खाद्य संस्थानको चामल गोदाममै कुहिन थालेपछि…

भदाै ६, तुलसीपुर: दुर्गम क्षेत्रका बासिन्दालाई सहुलियत दरमा चामल उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थानको चामल गोदाममै कुहिन थालेको छ । दाङको तुलसीपुरमा अञ्चल कार्यालय स्थापना गरी संस्थानले पहाडी तथा हिमाली क्षेत्रमा चामल पठाउँदै आएको थियो । सेवा क्षेत्रका नागरिकले संस्थानको चामल किन्न छाडेपछि चामल गोदाममै कुहिन थालेको अञ्चल कार्यालयले जनाएको छ ।

एक वर्षयता खाद्य संस्थानको चामल स्थानीयले किन्न छाडेका छन् । संस्थानको चामल बिक्न छाडेपछि अञ्चल कार्यालय तुलसीपुरको गोदाममा संस्थानको चामल कुहिन थालेको हो । बजार मूल्य भन्दा सहुलियत दरमा चामल प्रदान गर्दै आएपनि राप्ती अञ्चल कार्यालय तुलसीपुरको चामल गत वर्षदेखि नै बिक्न छाडेको छ। पहाडी तथा हिमाली जिल्लामा सडक सञ्जाल बढेपछि संस्थानको चामल बिक्न छाडेको हो । चामलको माग घटेपछि गोदाममा राखिएको चामल कुहिन थालेका कार्यालयले जनाएको छ ।

स्थानीयले किन्न छाडेपछि संस्थानको चामल कारागारमा मात्रै खपत हुन थालेको छ । गृह मन्त्रालयले संस्थानको चामल खरिद गर्न निर्देशन दिएपछि कारागारका कैदीले संस्थानको चामल खरिद गर्ने गरेका छन् । संस्थान अहिले कारागारसँग व्यापार गर्न केन्द्रित भएको छ । अहिले डोल्पा, रुकुम, सल्यान, प्युठान, रोल्पा र दाङका कारागारमा संस्थानको चामल खपत हुने गरेको छ ।

गत वर्ष खाद्य संस्थानमा २४ हजार चार सय ३२ क्विन्टल चामल मौजाद रहेकोमा हालसम्म आठ हजार चार सय ७३ क्विन्टल मात्र बिक्री भएको छ । अन्य चामल एक वर्षदेखि गोदाममै थन्किएको कार्यालयले जनाएको छ । गोदाममा रहेको चार हजार ६ सय ९० क्विन्टल चामल कुहिने अवस्थामा पुगेको हो ।

अनुदान दिइएको संस्थानको चामल रुकुम मुसिकोट डिपोमा एक हजार ६ सय एक क्विन्टल, रुकुम शोभा गाउँमा डिपोमा नौ सय ७० क्विन्टल, डोल्पाको दुनैमा एक हजार नौ सय एक क्विन्टल, डोल्पा जुफालमा एक हजार क्विन्टल डोल्पा शर्मिमा पाँच सय क्विन्टल, डोल्पा लिकुमा पाँच सय क्विन्टल, सल्यान प्युठान र दाङका चार कारागारमा एक हजार तीन सय २० क्विन्टल तथा दाङमा फुटकर बिक्री नौ क्विन्टल गरी आठ हजार चार सय ७३ क्विन्टल मात्र खपत भएको खाद्य संस्थान अञ्चल कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद चौधरीले जानकारी दिए ।

सडक सुधारसँगै व्यापारीले पहाडी तथा हिमाली जिल्लाका दुर्गम क्षेत्रमा ताजा तथा मसिना चामल पु¥याउन थालेपछि संस्थानको चामलको माग घटेको हो । उपभोक्ताको स्वाद पनि मसिना चामलमै गएकाले संस्थानको चामल बिक्री हुन छाडेको चौधरीको भनाइ छ । हाल कार्य क्षेत्रका जिल्लामा चामल पठाउन बन्द भएपछि गोदामसमेत अरूलाई भाडामा दिन थालिएको चौधरीले बताए ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा कोटाकै चामल एक हजार नौ सय ७३ क्विन्टल र आर्थिक वर्ष २०७३/०७४ मा थप चार हजार सात सय ३५ क्विन्टल चामल गोदाममै स्टक छ । खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले वीरगन्ज, नेपालगन्ज बर्दियाको राजापुर र बिर्तामोडबाट चामल आपूर्ति गर्दै आएको छ । पहाडी जिल्लामा माग नभए पनि सुगर तथा अन्य बिरामीले रुचाएको उसिना चामल भने खाद्य संस्थानबाट बिक्री हुने गरेको पाइएको छ । उसिना चामल लागत उठाएर बिक्री गर्न विभागले अनुमति दिएकाले प्रतिक्विन्टल तीन हजार रुपियाँमा बिक्री गरिरहेको चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *