पुरानो मेडिकल केलजमा स्वास्थ्य बिमाको कार्यक्रम थप

किशोर खनाल, भरतपुर । पुरानो मेडिकल कलेजको रूपमा चिनिने कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पनि सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । ‘पुरानो मेडिकल कलेज भदौ १ गतेबाट नै सरकारको स्वास्थ्य बिमाको कार्यक्रमअन्तर्गत प्रथम सेवा विन्दु बनेको छ’ कलेजका सिनियर मार्केटिङ म्यानेजर दुर्गा न्यौपानेले बताए । नेपालकै दक्ष डाक्टरहरु कार्यरत रहेका उक्त अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमका सम्पूर्ण सदस्यहरूले प्रथम सेवा बिन्दुका रूपमा मङ्सिर १ देखि उपचार सेवा पाउनेछन् ।

‘प्रथम सेवा विन्दु बनेको ३ महिनापछि उपचार सेवा पु¥याउन सकिन्छ, तर प्रथम सेवा विन्दु बनेका अस्पतालबाट रिफ्रल भएका र इमरजेन्सीका बिरामीहरुलाई भदौ १ गतेबाट नै बिमाको उपचार सेवा दिन सकिन्छ’ सिनियर मार्केटिङ म्यानेजर न्यौपानेले भने । न्यौपानेका अनुसार पुरानो मेडिकल कलेजमा स्वास्थ्य बिमाअन्तर्गतको सम्पूर्ण रोगहरुको उपचार हुन सक्छ । ‘सबै खालका उपचार सस्तो सर्वसुलभ तरिकाले उपचार हुने अस्पतालको रूपमा पुरानो मेडिकल कलेज चिनिएको छ’ उनले भने ।

पुरानो मेडिकल कलेज काठमाडौँ बाहिर ओपन हर्ट सर्जरी, मृगौला प्रत्यारोपण, सुविधा सम्पन्न क्याथ ल्याब, जीआई सर्जरी, न्यूरो सर्जरी तथा न्यूरो मेडिसिन सेवा सुरु गर्ने पहिलो अस्पताल भएको अस्पताल प्रशासनले जनाएको छ । यस अस्पतालमा ३ टेस्ला क्षमताको काठमाडौँ बाहिरको एकमात्र एमआरआई सेवा, १६५ स्लाइस क्षमताको अत्याधुनिक सीटीस्क्यान सेवा, भेन्टिलेटरसहितको अत्याधुनिक आईसीयू, एचडीयू, एनआईसीयू, पीआईसीयू तथा अप्रेसन थिएटरसमेत रहेको अस्पताल प्रशासनको भनाइ छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेदेखि चितवनमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । प्रतिवर्ष २५ सय विमित रकम बुझाएबापत् ५० हजार बराबरको विमितका ५ जना परिवारले उपचार पाउनेछन् । ५ जनाको औषधिउपचार ५० हजारले नपुगेर रकम थप्न परे बिरामी आफैँले भुक्तानी गर्नुपर्छ ।

‘नेपाल सरकारकै दररेटमा उपचार गराउनुपर्ने भएकाले ५० हजारमा धेरै उपचार गराउन सकिनेछ’ मार्केटिक म्यानेजर न्यौपानेले भने ।

परिवार सदस्य सङ्ख्या पाँच जनाभन्दा बढी भए प्रति सदस्य ४२५ रुपैयाँ थप तिरेर बिमा गर्न सकिने छ । यसरी असार महिनामा बिमा गरेका परिवार सङ्ख्या चितवनमा आठ हजार ३५ रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनका प्रवन्धक सिर्जना पौडेलले जानकारी दिइन् ।

यी परिवारका लगभग ३२ हजार जनाले उपचार गराउँदा निश्चित रकम बिमाबाट बेहोरिने छ । बिमा गराएको परिवारले ५० हजार रुपैयाँसम्मको खर्च बिमाबाटै बेहोरिने नियम छ । बिमा गराएकाहरुले चितवनमा १० स्वास्थ्य संस्थामा उपचार गराउँन सक्ने छन् ।

प्रवन्धक पौडेलका अनुसार भरतपुर अस्पताल, भरतपुर आँखा अस्पताल, वीपी कोइरला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको शिक्षण अस्पताल, त्यस्तै चितवन कलेज अफ मेडिकल साइन्सको शिक्षण अस्पताल अर्थात् पुरानो मेडिकल कलेजमा बिमा गराउनेहरुको उपचार बिमा मार्फत नै भुक्तानी हुने छ । अन्य स्वास्थ्य निकायमा पनि यो सुविधा छ ।

बकुल्लहर रत्ननगर अस्पताल, गुञ्जमानसिंह अस्पताल, माडीको बघौडा अस्पताल, शिवनगर, खैरहनी र जुटपानीमा रहेका प्रथामिक स्वास्थ्य केन्द्रहरुमा पनि बिमामार्फत उपचार सुविधा लिन सकिन्छ । ठुला अस्पतालले सेवा सुरु गरी सके पनि अन्य स्वास्थ्य केन्द्रमा एक दुई दिनभित्रै सेवा सुरु हुनेछ । असारभित्र बिमा गरेकाहरुले भदौदेखि नै सेवा लिन पाएका हुन् । साउन, भदौ र असोजमा बिमा गराउनेहरुले मङ्सिरबाट सेवा लिन पाउने छन् । बिमा गराउन वडा वडामा बिमा प्रतिनिधिहरू खटेको प्रवन्धक पौडेलको भानइ छ ।

‘चितवनका सात स्थानीय तहका ९८ वडाहरुका लागि १३५ जना दर्ता प्रतिनिधिहरू खटेका छन् । ‘कानुनी र संवैधानिक व्यवस्था अनुसार प्रत्येक परिवार र तिनका सदस्यलाई स्वास्थ्य बिमा मार्फत सहुलियत रूपमा उपयुक्त स्वास्थ्य उपचार दिन हामी प्रतिबद्ध छौँ । बिस्तारै सबैले यो सुविधा पाउने छन्’ चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रुमख विजयकुमार झाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *