गोरखपुर घटनापछि योगीको लोकप्रियता ओरालोतिर ?

काठमाडौं, साउन ३१ । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नै गृहनगर गोरखपुरमा इन्सेफ्लाइटिसले आक्रान्त ६० भन्दा धेरै बालबालिकाको अस्पतालको लापरवाहीका कारण मृत्यु भएपछि विवादित बनेका छन् । इन्सेफ्लाटिसले सिकिस्त बनेर अस्पताल भर्ना भएका बालबालिकामध्ये केही अस्पतालमा अक्सिजन ग्यास सकिएर हाहाकार भएपछि सास रोकिएर मरेका थिए । यो घटनाले गोरखपुरवासीका साथै सम्पूर्ण भारतीय जनताको संवेदना जागृत भएको देखिएको छ । सधै योगीको जयजयकार हुने गोरखपुरमा यो घटनापछि योगी सरकारविरुद्ध विरोध प्रदर्शन हुन थालेको छ र उत्तर प्रदेशमा योगीको लोकप्रियता खस्किएको छ ।

केन्द्रमा भारतीय जनता पार्टीको सरकारलाई समर्थन गरिरहेको शिवसेना दलले यो घटनालाई लिएर आफ्नो मुखपत्र ‘सामना’ मार्फत केन्द्रको मोदी सरकार र प्रदेशको योगी सरकारको कडा आलोचना गरेको छ । यस घटनालाई ‘सामूहिक बालहत्या’ बताउँदै ‘सामना’ मा यसले राष्ट्रिय स्वतन्त्रता दिवसको अपमान गरेको कडा टिप्पणी गरिएको छ । सामनामा लेखिएको छ, ‘‘गरिबहरूको दुःख, उनीहरूको वेदना र उनीहरूको ‘मनको कुरा’ बुझ्नु सट्टा उनको वेदनाको खिल्ली उडाइँदै छ । गोरखपुरमा जे भयो, त्यसका लागि जिम्मेवार को हो ?’’

बालरोग विशेषज्ञ तथा इन्सेफ्लाइटिस उन्मूलन अभियन्ता डाक्टर आरएन सिंह भन्छन्, ‘‘पूर्वाञ्चलका इन्सेफ्लाइटिस पीडितहरूको उपेक्षा किन भैरहेको छ भने उनीहरू गरिब किसानका छोराछोरी हुन् । सार्स र स्वाइन फ्लुजस्तो सम्पन्न व्यक्तिहरूलाई हुने रोगबारे युद्धस्तरीय तीव्रता देखाउने सबै सरकारहरू इन्सेफ्लाइटिसबारे ३० वर्षपछि चुपचाप छन् ।’’

गोरखपुर घटनाले भारतमा बिस्तारै राजनीतिक रंग लिँदै गएको र यो राष्ट्रिय बहसको विषय बनेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *