फर्की हेर त बाबुराम !

बाबुराम भनेर मानिसहरू गर्थे बडो आदर

विद्वान् मानिस ठानी भित्री मनले नुग्थे झुकाई शिर
राम्रो हो गुणवान, स्वच्छ छविको ठान्थे निकै सत्जन
यस्तो व्यक्ति हुँदैन सम्भव कबै संसारमा जन्मन !

धेरै काल बिते अनेक थरीका चर्चा–विचर्चा गरी
छापे झन् अखबारले पनि उनी छन् रे विवेकी, गुणी !
सत्ताको जब वागडोर उनको नेतृत्वमा आउँदा
छक्कै पर्नु भयो समस्त मुलुकै सन्त्रासले छाउँदा ।

ह्वात्तै भाउ बढ्यो बजार महँगी, कालोबजारी भयो
चोरीले, लुटपाटले र घुसले सातो डगाइदियो
हिंसा खुब बढ्यो, सतित्व लुटिँदा नारी सखापै भए
अन्यायी अति त्रूmर पाशविकता मैमत्त बन्दै गए ।

बाटो पार्न फराकको निहुँ झिकी छाप्रा जलाइदिए
लाखौँ मानिस गाँस खोसिन गई नाङ्गा–भुतुङ्गा भए
पाकेटमार बढे, निभेर बिजुली उद्योग बन्दै भए
खै के गर्नु कुरा सबै अधमरा कानै चिरेका थिए ?

सुन्ने कान पनि भएन अहिले देख्ने न आँखा रह्यो
कुर्सी मात्र समाउने धुन बनी बाटो बिरानो भयो
पत्नीकै प्रियपात्र मात्र हुनुले गिर्दै गयो रे ! छवि
चिन्ता लाग्दछ बाबुराम बबुरो बन्लान् हरामी भनी ।

बाबुराम तथा प्रचण्डपथ नै उल्टो दिशामा गयो
माओवादसमेत विकृत बनी राम्रो नराम्रो भयो
छैनन् राष्ट्रिय धारणा पनि कुनै सिद्धान्त स्वार्थी छँदा
दागी बन्न गयो, खराबसितको गठजोड गर्ने हुँदा ।

यो गर्छू र ऊ गर्दछु भनी उनी धक्कु ठुलै लाउँथे
मारे मर्छु शहिद बन्दछु भनी झ्याली सधैँ पिट्दथे
पैसामा पदमा र शक्ति तहमा झुक्थेँकहाँ भन्दथे
बिर्सी आज सबै कुकृत्यहरूमा आफैँ कसोरी फसे ?

जाति द्वन्द्व झिकेर बेस्कन यहाँ पारे ठूलै खाडल
गर्छु युद्ध भनेर फेरि यिनले चर्को गरे भाषण
लड्ने कोसित हो, प्रयोजन छ के त्यस्तो लडाइँ अब ?
यस्ता तर्क–कुतर्क गर्छ जसले ढाँट्ने कुरा हुन् सब ।

गोर्खाका पृथ्वी थिए मुलुकका नेपालका सर्जक
गोर्खाकै जब बाबुराम अहिले आए बनी भाँडक
विद्वान्ले हित हेर्छ सामूहिकता गर्दैन लड्ने कुरा
पाजी मानिस मात्र भन्छ दिनहुँ हामीहरू छौँ सुरा ।

विद्यावारिधि त्यो लिएर उनले खै के गरे सिर्जना ?
यौटा मात्र कुनै उदाहरण होस् मान्छे गरून् सम्झना
खाली बन्दुकले बनाउँछ कहाँ संसार यो सुन्दर ?
चिन्ता, चिन्तन छैन ता यदि भने भत्कन्छ आफ्नै घर ।

के भन्ने उनलाई आज द्विविधामा पो परेको छु म
शब्दै छैन कुनै विशेषण दिने आश्चर्यमा पो छु म
मान्छे बन्न कहाँ सकिन्छ सजिलै ? चाहिन्छ है धैर्यता
फर्की हेर त बाबुराम अहिले आपूm पुगेछौ कता ?

                    रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *