नवराज सिलवालको सुनुवाइ भदौ १५ मा

काठमाडौं, साउन २६ । प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि अर्को सुनुवाइ तोकिएको हो ।

सरकारका पक्षबाट बिहीबार महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले तथा प्रहरी महानिरीक्षक प्रकाश अर्यालका तर्फबाट अधिवक्ता सतीशचन्द्र खरेल, आशिष अधिकारी र सुवास आचार्यले बहस गरेका थिए ।

यसअघि, साउन १९ गते निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल र बाबुराम कुँवर तथा अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गरेका थिए ।

त्यसअघि, सिलवालको मुद्दा असार २२ गतेदेखि आजका लागि तोकिएको थियो । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते निवेदन दिएका थिए ।

अदालतको उक्त निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

सिलवालले वरीयताक्रममा आफू पहिलोमा रहेको र चार वर्षको कार्यसम्पादन एवं मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनः अदालतमा निवेदन दिएका थिए । त्यसमा अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *