जिरौनालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन जुटे गाउँले

रत्ननगर, फागुन २ । रत्ननगरको जिरौनालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन यहाँका स्थानीयहरु मरिमेटेर लागेका छन् । मुठीदानबाटै ५ करोडको लागतमा श्रीकृष्ण प्रणामीको कलात्मक मन्दिर निर्माण सम्पन्न गरेपछि स्थानीयहरु पर्यटकीय गन्तव्य बनाउन जुटेका हुन् । स्थानीहरु मन्दिरको प्रचारप्रसारको लागि दौडधूप गरिरहेका छन् ।
जिरौनाबाट सवारी साधनमा जाने हो भने १५ मिनेटमा पर्यटकीय गन्तव्य सौराहा पुग्न सकिन्छ । यसको १० किलामिटरको फरकमा पवित्र पून्यभूमि देवघाटधाम छ । नवलपुरको शास्वतधाम पनि जिरौनाबाट नजिकै पर्छ । ‘देवघाट, शास्वतधाम र सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जिरौना ल्याउन सकिन्छ’ श्रीकृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराज शर्मा पौडेलले भने, ‘जिरौनावासी त्यसको कसरतमा लागेका छन् । हामीले जिरौनालाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनेछौँ ।’

मुठीदानबाटै श्रीकृष्ण प्रणामीको ५ करोडको लागतमा कलात्मक मन्दिर निर्माण गरेपछि जिरौनवासी धार्मिक पर्यटकीय क्षेत्र बनाउन हौसेका हुन् । मन्दिरभित्र र बाहिर विभिन्न देवीदेवताका कलात्मक तस्बिरहरु कुँदिएका छन् । ‘प्रणामीको यो मन्दिर नेपालकै पहिलो कलात्मक मन्दिर हो, यो हेर्न देशविदेशबाट पर्यटकहरु आउँछन्’ अध्यक्ष शर्माले भने । भारतबाट ल्याइएका कालिगढहरुले १२ वर्ष लगाएर कलात्मक शैलीको मन्दिर निर्माण गरिएको उनले बताए । मुठीदानबाहेक रत्ननगर नगरपालिका र चितवनको क्षेत्र नं १ का सांसदहरुले विनियोजन गरेको केही रकमले मन्दिर निर्माणमा खर्च गरिएको छ । मन्दिर मनमोहक र आर्कषक पनि छ ।
‘चितवन आएका पर्यटकहरुलाई विभिन्न प्याकेजका कार्यक्रमहरु ल्याएर जिरौनासम्म ल्याउने कसरत गरिरहेका छौँ’ मन्दिर निर्माण समितिका संयोजक श्याम बरालले भने, ‘जिरौनालाई धार्मिक क्षेत्र बनाउन स्थानीय जुटेका छन् ।’ देवघाट, सौराहा र नवलपुरको शास्वतधाम आएका एक चौथाइ पर्यटक जिरौना ल्याउने कसरतमा जुटिएको उनले बताए । उनले जिरौनाको प्रणामी मन्दिरको प्रचारप्रसार अभियानलाई तीव्र पारेको बताए ।
मन्दिरको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुनेछ । श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिले मन्दिरको उद्घाटनसँगै स्वर्ण महोत्सव तथा श्रीमत् तारतमसागर १०८ पाठपारायण ज्ञानमहायज्ञ हुनेछ ।
मन्दिर निर्माणको लागि आर्थिक संकलन तथा वृद्वाश्रम भवन निर्माणको लागि महायज्ञ आयोजना गरिएको हो । फागुन ५ गतेदेखि ज्ञानमहायज्ञ सुरू हुने श्रीकृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराज शर्मा पौडेलले जानकारी दिए । महायज्ञ फागुन १२ गतेसम्म चल्ने छ ।
श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य जगतगुरू श्री १०८ कृष्णमणिजी महाराजश्री प्रमुख अतिथि रहने महायज्ञमा नेपाल, भारतलगायत अन्य राष्ट्रका सन्त, गुरूलगायत एक लाखभन्दा बढी श्रद्धालु भक्तजनको उपस्थिति रहने अध्यक्ष पौडेलले बताए । उनीहरुको बन्दोबस्त मन्दिर व्यवस्थापन समितिले मिलाएको छ ।
महायज्ञ सफल बनाउन स्थानीय एक हजार ८ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने ३८ वटा विभिन्न उप–समितिहरु गठन भएका छन् । स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिने सप्ताह कार्यक्रममा झण्डै ४५ लाख रुपैयाँ खर्च हुने मूल समारोह समिति संयोजक पौडेलले जानकारी दिए । २०३१ सालमा निर्माण भएको जिरौनाको मन्दिर जीर्ण बनेपछि आकर्षक कलात्मक नयाँ शैलीमा मन्दिर स्थापना गरिएको छ । मन्दिर परिसरमा वृद्धाश्रम संचालन गरिएको छ । अनाथ वालवालिकाका लागी अनाथ आश्रम र पूर्णकालीन छात्रवास सुविधासहितको नमुना विद्यालय संचालनमा ल्याउने तयारी गरिएको छ ।








