बाबाताल पर्यटकीय आकर्षणको केन्द्र बन्दै

लहान, २६ साउन । सिरहाको कर्जन्हा गाउँपालिका–१ बन्दीपुरस्थित बाबाताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब एक किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरिको वन, वनभोजस्थल, शिव मन्दिर र उद्यानका कारण पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । बाबाताल र त्यस वरिपरिको मनमोहक दृश्य अवलोकनका लागि अहिले दैनिक एक सयदेखि एक सय ५० जनासम्म आन्तरिक पर्यटक आउने गरेका ताल संरक्षण संवद्र्धन समितिका केशव पोखरेल बताउनुहुन्छ ।

चुरे क्षेत्र नजिकै रहेको उक्त तालको अवलोकनका लागि गर्मीयामभन्दा जाडोको मौसममा बढी पर्यटक आउने गर्दछन् । उदयपुरको बेलसोथस्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोज स्थल, शिव मन्दिर, बालउद्यानदगायत पूर्वाधार निर्माण गरेको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको बाबाताल क्षेत्र अवलोकनका लागि विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका पोखरेलले बताउनुभयो ।


“अरू बेलाभन्दा नयाँ वर्ष र चाडपर्वका बेला पर्यटकको घुइँचो लाग्छ,” उहाँले भन्नुभयो । अहिले ताल रहेको क्षेत्रमा नेपाली, मैथिली र भोजपुरी चलचित्रको छायांकनसमेत हुन थालेको छ । ताल घुम्न आउने पर्यटकका लागि बाबाताल संरक्षण समितिले प्रवेश शुल्क रु १० तथा तालमा आधा घण्टा जलयात्रा गर्दा रु १५ शुल्क लिने गरिएको छ । बाबातालप्रति पर्यटकको थप आकर्षण बढाउन बगँैचा, बालउद्यान निर्माण गरिएको छ । यहाँ भ्यूटावरको समेत निर्माण भइरहेको ताल संरक्षण संवद्र्धन समितिका अध्यक्ष अञ्जनी दाहाल बताउनुहुन्छ ।

“भ्यू टावर निर्माणपछि पर्यटकको संख्यामा वृद्धि हुनेछ,” उहाँले भन्नुभयो । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको सो ताल घुम्न आउने पर्यटकको सुविधालाई ध्यानमा राखेर धर्मशाला निर्माण गरिएको छ । ताल क्षेत्रमा स्थानीयवासीले होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिरहेका छन् । बाह्य पर्यटक भित्र्याउन राजमार्गदेखि तालसम्मको सडक कालोपत्र गर्ने तथा केबुलकार सञ्चालन गर्ने योजना ताल संरक्षण समितिको रहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *