नेपालमा स्वाइन फ्लुको संक्रमण बढ्नुका कारण यी हुन् ;

साउन २४, मकालु खबर । नेपालमा स्वाइन फ्लुका कारण यस वर्ष ६ जनाको मृत्यु भइसकेको तथ्यांक इपिडिमियोलोजी महाशाखाले सार्वजनिक गरेको छ । ८३ जना संक्रमितमध्ये यो संख्यामा बिरामीको मृत्यु हुँदा यसले भोलिका दिनमा भयावह रुप लिने देखिन्छ । संक्रमितहरुको मृत्युको यो तथ्यांकले स्वाइन फ्लुको मृत्युदर ७ दशमलब २ प्रतिशत देखिन्छ । यो मृत्युदर अन्तर्राष्ट्रिय स्तरमा देखिएको भन्दा धेरै र भारतमा अहिले देखिएको भन्दा झन्डै दोब्बर हो ।

पछिल्लो पटक मृत्यु भएका बिरामीका आफन्तहरु र काठमाडौंका विभिन्न अस्पतालमा हाल उपचार गराइरहेका तथा गराइसकेका बिरामीहरुसँग मैले अन्तर्क्रिया गर्ने अवसर पाएको छु । स्वाइन फ्लुको जन्मदेखि नै मैले यो भाइरसलाई नजिकबाट नियाल्ने र भइरहेका अनुसन्धानहरु पढ्ने मौका पाइरहेको छु ।

यस अवधिमा स्वाइन फ्लु कन्फर्म केसहरु र फ्लुसँग मिल्दाजुल्दा लक्षणहरु लिएर आउने बिरामीहरुको उपचार गरेको संख्या जोड्ने हो भने हजारौं पुगिसकेको छ । यो बीचमा स्वाइन फ्लु फैलिँदाको उतारचढाव मैले प्रत्यक्ष अनुभव गर्ने मौका पाएँ । सन् २००९ मा यसले विश्वव्यापी रुप लिएको थियो । उक्त वर्ष सयौं संक्रमित बिरामीको मृत्यु समेत भयो ।

त्यसबेला नितान्त फरक फ्लु भाइरस भएकोले धेरै मानिस मरेको भनेर वैज्ञानिकहरुले अनुमान गरेका थिए । तर, यो भाइरस देखिएको ९ वर्ष पुगिसक्दा र हरेक वर्ष देखिने गरे पनि मानिसहरु यसको नाम सुन्नेबितिकै त्रस्त हुने गरेका छन् । खासगरी मृत्युदर यो वर्षको मनसुन सिजनमा अचम्मै तरिकाले ह्वात्तै बढेको छ ।

यसरी स्वाइन फ्लुको संक्रमण बढ्नुका कारण यी हुन सक्छन्:

१) समयमा जनचेतना नफैलाउनु  

स्वाइन फ्लु यो सिजनको सुरुमा देखिँदा यसलाई हल्का रुपमा लिइयो । त्यसैको फलस्वरुप अहिलेको परिणाम देखिएको हुनुपर्छ । सम्बन्धित निकायले त्यसै समयदेखि फ्लु विरुद्धको अभियान सुरु गरेको भए अहिलेको अनपेक्षित मृत्युदर देखिने थिएन होला । यसको प्रचार सामान्य मौसमी रुघाखोकी भनेर प्रचार गर्दा पनि सर्वसाधारणले यसलाई सामान्य रुपमा लिएको देखिन्छ ।

हामीले बुझ्नुपर्ने के हो भने सामान्य रुघाखोकी र इन्फ्लुएन्जा फरक संक्रमण हुन् । इन्फ्लुएन्जा भाइरस कडा हुन्छ । आत्तिनु नपरे पनि सामान्य मौसमी रुघाखोकी भनेर सजगता नअपनाउँदा खासगरी दीर्घरोगीहरु धमाधम आइसियू पुगेका देखिन्छन् । हामीले यसलाई सामान्य मौसमी रुघाखोकी भनेर प्रचार गर्ने कि स्वाइन फ्लु भनेर गर्ने भन्ने कुरा गरिरहँदा के भन्दा सर्वसाधारण बढी सचेत हुन्छन् भन्नेमा निर्भर हुन्छ । यो सत्य हो, यो भाइरसलाई प्राविधिक रुपमा स्वाइन फ्लु भन्न मिल्दैन र यो हाल सुङ्गुरबाट सर्ने पनि होइन । तर, एचवानएनवान वा मौसमी रुघाखोकी भनेर प्रचार गरिए सर्वसाधारणले बुझ्दैनन् र समयमा चिकित्सककोमा पनि जाँदैनन् ।

२) नयाँ भाइरस पो हो कि ?

इन्फ्लुएन्जा भाइरस हरेक सिजनमा परिवर्तन हुँदै आउँछ । यसलाई ‘एन्टिजेनिक ड्रिफ्त’ भनिन्छ। तर, चाखलाग्दो कुरा के छ भने, नेपालमा सन् २००९ यता भाइरसमा कति परिवर्तन भइरहेको छ भनेर सार्वजनिक गरिएको पाइँदैन । अनुसन्धानहरु पक्कै भएका होलान्, तर स्वास्थ्यकर्मीहरु तथा सर्वसाधारणले थाहा पाएको र चासो राखेको पाइँदैन । यसैले नेपाल सरकारले हरेक वर्ष यति र उति जनामा स्वाइन फ्लु आयो भनेर गन्नुभन्दा यसमा कस्तो परिवर्तन आइरहेको छ भनेर पनि हेर्नुपर्छ ।

भारतमा अहिले देखिएको स्वाइन फ्लुको भाइरस क्यालिफोर्निया स्ट्रेनबाट मिचिगन स्ट्रेनमा परिवर्तन भइसकेको छ । यस्तो अवस्थामा रोग जहिले पनि कडा हुने गर्छ । सरसर्ती हेर्दा भारतमा हालको मिचिगन स्ट्रेन देखापरेपछि ४ दशमलब ६ प्रतिशत देखिएको छ भने यो जाडो महिनादेखि लगातार देखिएको छ । यो कुरा भारतीय वैज्ञानिकहरुको लागि नसोचेको नतिजा हो । विश्व स्वास्थ्य संगठनले हाल त्यहाँ मिचिगन स्ट्रेनको लागि मिल्ने खोप लगाउन सल्लाह दिइसकेको छ ।

नेपालमा आजसम्मको मृत्युदर हेर्दा भारतको भन्दा दोब्बर देखिन्छ । तसर्थ नेपालमा पनि कतै मिचिगन स्ट्रेनको स्वाइन फ्लु देखा परिसकेको त छैन ? भारतमा भन्दा यहाँ मृत्युदर बढी हुनुमा कहीँ यही नयाँ स्ट्रेनको कारण त होइन ? वा क्यालिफोर्निया र मिचिगन नभई अरु नयाँ स्ट्रेन पो छ कि ?

३) फ्लु विरुद्धको खोपबारे बहस नहुनु

हरेक वर्ष फ्लुको प्रकोप देखिएपछि बच्ने उपायहरुबारे ठूलै बहस चल्छ । नेपाल सरकारले फ्लुबाट बच्ने उपायहरु रेडियोमार्फत पनि प्रसारण गरिरहेको छ । स्वास्थ्यकर्मीहरुले पनि यसबारे सुझाव दिने गरेका छन् । तर, फ्लु विरुद्ध खोप छ र यो एउटा उत्तम उपाय हो भनेर सर्वसाधारणलाई बुझाउन सकेको देखिँदैन ।

फ्लुबाट बच्ने उपायहरु हरेक समय अनुशासित भएर पछ्याउन सकिँदैन । विकसित देशहरुमा पनि यी उपाय प्रभावकारी नभएकाले खोपलाई नै राम्रो विकल्पको रुपमा लिएको देखिन्छ र खोप खासगरी जोखिम वर्गमा रहेकाहरुलाई अनिवार्य जस्तै गरिएको देखिन्छ । नेपालमा भने फ्लु विरुद्धको खोपबारे बहस नहुनु र बच्ने उपायहरु पनि इमान्दारीपूर्वक उपयोग नगर्दा फ्लु कडा रुपमा देखिँदै गएको देखिन्छ ।

४) स्वाइन फ्लु संक्रमणलाई सामान्य मान्नु

हाम्रो समाजमा कसैलाई रुघाखोकी लागे एक हप्तादेखि एक महिनासम्म आफूखुसी औषधि खाएको देखिन्छ । त्यसरी खाएको औषधिले काम नगरेपछि अन्त्यमा बल्ल अस्पताल पुग्ने गर्छन् । स्वस्थ र रोग प्रतिरोधात्मक क्षमता बलियो भएका संक्रमितहरु एक हप्तामा निको हुन सक्छन् । तर, जोखिम वर्गका जस्तै: वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी खासगरी दम, सीओपीडी आदिलाई अस्पताल भर्ना गराउनैपर्ने कडा लक्षणहरु देखिन सक्छ र मृत्यु समेत हुन सक्छ ।

तसर्थ भर्ना हुने बितिक्कै मान्छे मरेको सुनिने गरे पनि उनीहरु खासगरी जोखिम वर्गका संक्रमितहरु मौसमी रुघाखोकी हो भनेर समयमा अस्पताल नजादा स्वाइन फ्लु घातक देखिएको हो ।

माथिका कारणहरुलाई नेपाल सरकारले राम्रोसँग मनन र विश्लेषण नगर्दा स्वाइन फ्लु घातक भइरहेको देखिन्छ । यी कुरालाई आगामी दिनमा पनि ध्यान नदिए नतिजा यो वर्षभन्दा थप भयावह नहोला भन्न सकिन्न ।

(डापुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

स्रोत : स्वास्थ्य खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *