‘भरतपुरमा राज्यसत्ताको चरम दुरुपयोग’

किशोर खनाल, भरतपुर । नेकपा एमाले चितवनले भरतपुर महानगरमा राज्यसत्ताको चरम दुरुपयोग गरी एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीलाई हराइएको आरोप लगाएको छ । भरतपुर–१० स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी एमालेले राज्यसत्ताको चरम दुरुपयोग गरेर हराइएको आरोप लगाएको छ ।

‘मतपत्र नच्याति लगातार मतगणना भए एमालेले २६० मतले विजय हुने थियो, राज्यसत्ताको चरम दुरुपयोग गरेर योजनाबद्ध ढंगले मतपत्र च्यात्ने काम भएको छ’ एमालेको पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ । पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले पुनः मतदानमा करोडौँ रुपैयाँ वितरण गरेर एमालेले हराइएको आरोप लगाए । सत्ताको आडमा माओवादीका नेताले बिना अनुमति तोकिएका भन्दा बढी दजनौं सवारी साधान प्रयोग गरी मतदाता ओसारेको उनले बताए । प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरी माओवादी केन्द्रले सत्ताको दुरुपयोग गरी मतदाता ओसिरएको उनको आरोप थियो ।

एमाले मेयर पदका उम्मेदवार देवी ज्ञवालीले महानगरको मेयरको पद जितेर पनि हराइएको दावी गरे । उनले भने, ‘मेयरमा जितेकी रेणु दाहाललाई छटपटि भइरहेको छ, देवी ज्ञवालीलाई अन्याय गरें भनेर । मेयर पदका उम्मेदवार ज्ञवालीले सर्वोच्च अदालतको फैसला ढिला आउँदा षडयन्त्रको जालो फैलिएको बताए । पत्रकार सम्मेलनमा उम्मेदवार ज्ञवालीले पनि रेणुको जीत स्वाभाविक नभएको बताए । उनले रेणुको जितलाई कृत्रिम जीत भने । उम्मेदवार ज्ञवालीले सिङ्गो राज्य एकातिर लागेर पटकपटक चुनाव गर्न लगाएर आफूलाई हराइएको दाबी गरे ।

एमाले जनप्रतिनिधिको सपथ लिए
भरतपुरका मेयर र उपमेयरसहितका केही जनप्रतिनिधिले सोमबार सपथ लिएका छन् । तर, ‘मतपत्र च्याँत्नेहरु’सँगै सपथ नलिने भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले आइबारको सपथ बहिस्कार गरेको एमाले वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले बताए । उनीहरुलाई मुख्य निर्वाचन अधिकृतले सोमबार सपथ ग्रहण गराएका छन् । महानगरको १४ वटा वडा जितेको एमालेका ७० जना निर्वाचित प्रतिनिधिले सोमबार सपथ गरेका छन् । सहकारी डिभिजन कार्यालयको हलमा एमालेका वडाध्यक्षले सपथ खाएका थिए भने सदस्यहरुले महानगरपालिकाका मेयर रेणु दाहालबाट सपथ लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *