भरतपुरलाई विकासका दृष्टिले समृद्ध पार्न महानगरवासीको सुझाव

नारायण ढुंगाना, चितवन । लामो अन्यौलपछि जनप्रतिनिधि छानिएको चितवनको भरतपुर महानगरपालिकालाई समृद्ध पार्न स्थानीयले निर्वाचित जनप्रतिनिधिलाई सुझाव दिएका छन् । बीस वर्षपछि महत्वपूर्ण अवसर आएको भन्दै उनीहरुले यो अवसरलाई उपयोग गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई सुझाएका छन् । भरतपुर महानगरपालिका वडा नं १९ की तारा गुरुङ एक जना व्यक्तिको सकारात्मक भूमिकाले पनि समाज विकासमा उल्लेखनीय काम हुनसक्ने भन्दै अहिले समूह नै लाग्ने हो भने असम्भव केही नरहेको जिकिर गर्नुुहन्छ ।

चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन भएको दुई महिना २० दिनपछि प्रमुख उपप्रमुखसहित जनप्रतिनिधि चयन भएका छन् । वैशाख ३१ मा भएको निर्वाचनको जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिँदा लामो समय जनप्रतिनिधि निर्वाचित भएर पनि काम गर्न पाएनन् । प्रमुख उपप्रमुख चयनसमेत रोकिएको थियो । साउन २१ गते जनप्रतिनिधिले पूर्णता पाएसँगै स्थानीयले विकासको मूल फुट्ने आशा यहाँका बासिन्दाको छ । उद्योग वाणिज्य संघका जिल्लाअध्यक्ष राजन गौतम २० वर्षपछिको यो समयलाई अवसरका रुपमा लिएर समृद्ध महानगर बनाउन लाग्नुपर्ने बताउनुहुन्छ । चुनावी नारा र घोषणापत्रलाई सहीरुपमा कार्यान्वयन गर्नुपर्ने भन्दै वस्तुगत विष्लेषण गरेर विकासमा लाग्न उहाँको सुझाव छ ।


“दुई घण्टा पानी परे सडक र खोला छुट्याउन नसक्ने हाम्रो महानगर छ”– गौतम थप्नुुहन्छ, “उद्योग, सडक, जमिनको संरक्षण तथा पर्यटन पूर्वाधार र विकासलाई प्राथमिकतामा पार्नुपर्छ ।” चितवन नेपालकै मध्यबिन्दु हो । पूर्वदेखि पश्चिमका मानिसको बसोबास चितवनमा छ । बसाइँ सरेर विभिन्न जिल्लाका मानिस चितवन आउँछन् । यति राम्रो क्षेत्र हुँदाहुँदै यहाँ जमिनको सही उपयोग हुन सकेको छैन, जलस्रोत, उद्योगको विकास, सम्भावना बोकेको पर्यटन क्षेत्रमा पूर्वाधारको अभाव छ । प्लटिङले जमिन खण्डीकरण भइरहेको छ ।

यस्ता विषयमा महानगर र नगर प्रमुखले विशेष ध्यान दिनुपर्ने गौतम बताउनुहुन्छ । चितवनमा दुई वटा मेडिकल कलेज, क्यान्सर अस्पताल, भरतपुर जिल्ला अस्पताल छन् । दुई दर्जन बढी अन्य निजी अस्पताल छन् । नारायणी राप्ती र नारायणी नदी छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमै छ । नेपालकै संरक्षित क्षेत्रमा सबैभन्दा बढी पर्यटक आउने विश्व चर्चित चितवन राष्ट्रिय निकुञ्ज छ । स्रोतसाधनले खानी भएको क्षेत्र चितवन हो, सहीरुपमा सदुपयोग भयो भने, साँच्चै समृद्ध पार्न सकिन्छ तर योजनाविहीन विकास हुनु मुख्य समस्या भएको यहाँका पर्यटन विज्ञ विश्व सुवेदी बताउनुहुन्छ ।

विज्ञबीच छलफल गरेर योजनाबद्धरुपमा विकासका खाका ल्याउनसके आर्थिक स्रोतको पनि चितवनमा कुनै अभाव नभएकाले भरतपुर महानगरले समग्र चितवनकै प्रतिनिधित्व गरेर काम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । चितवनमा एउटा गुरुयोजना निर्माण भएको छ । त्यसलाई आधार मानेर मात्रै विकासका खाका ल्याउनसके पनि उपलब्धि हुने विज्ञ सुवेदी बताउनुहुन्छ ।

भरतपुर पूर्वाधार बिनानै महानगर भएको छ । एउटा रंगशालासमेत छैन, मुख्य सडक साँघुरा छन् । मुख्य व्यापारिक केन्द्र नारायणगढ बजारकै सडक अव्यवस्थित छ । घना बस्तीमा उद्योग छ । आचारसंहिताअनुसारका भवन छैनन् । राजमार्गको स्तरोन्नति हुन सकेको छैन । त्यसतर्फ महानगर प्रमुख उपप्रमुखको ध्यान जानुपर्ने व्यवसायीहरुको धारणा छ । रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुराल देश विकासको आधार नै आर्थिक विकास भएकाले लगानीमैत्री वातावरणको खाँचो रहेको आँैल्याउनुहुन्छ । अब स्थानीय तहलाई धेरै अधिकार दिएको र सरकारबाट पनि राम्रै बजेट आउने भएकाले आफ्नो ठाउँ आफैँ बनाऔँ भनेजस्तो गरी काम गर्न नगरप्रमुखलाई उहाँको सुझाव छ ।

“भरतपुर महानगर प्रमुख रेणु दाहाल विकासका दृष्टिले चितवन जिल्ला प्रचुर सम्भावना रहेको क्षेत्र हो”– भन्नुहुन्छ । देशकै एउटा वैकल्पिक राजधानी बनाउने हैसियत भरतपुर महानगरको रहेको उहाँ बताउनुहुन्छ । उहाँको चुनावी नारा पनि देशकै एउटा समृद्ध, सुन्दर, शान्त, हराभरा, आधुनिक र व्यवस्थित शहर बनाएर लैजाने भन्ने थियो । जीतपछि पनि उहाँले ती एजेण्डालाई दोहो¥याउँदै समृद्ध महानगर बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

चितवन जिल्लामा सात स्थानीय तह छ । एउटा महानगर तथा इच्छाकामना गाउँपालिका र रत्ननगर, खैरहनी, राप्ती, कालिका र माडी गरी पाँच नगरपालिका छ । महत्वपूर्ण विषयमा भने सबै स्थानीय तहले एकीकृतरुपमा कार्यक्रम गर्नसके प्रभावकारी हुने स्थानीय बताउँछन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *