काठमाडौँमा ‘दक्षिण एसियाली महिला सम्मेलन–२०१७’ सुरु

साउन २२, मकालु खबर । काठमाडौँमा आइतबारबाट ‘दक्षिण एसियाली महिला सम्मेलन–२०१७’ सुरु भएको छ । दक्षिण एसियाका स्थानीय सरकारमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ सम्मेलन सुरु गरिएको हो । सम्मेलनको उदघाटन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले महिला सशक्तिकरणको अभियानलाई तीव्र गतिमा अघि बढाएको उल्लेख गर्नु भयो ।

उहाँले राज्यको नीति, निर्माणको सबै तहमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न संविधानमै व्यवस्था गरिएको पनि स्मरण गराउनु भयो । अध्यक्ष ओलीले महिलाहरूको सहभागिताविना समाजको समग्र विकास हुन नसक्ने पनि स्पष्ट पार्नु भयो । उहाँले नेपालले छोटै समयमा महिला उत्थानको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले नीति निर्माणको तहमा महिलाहरूको समान सहभागिता गराउन आफ्नो पार्टी प्रतिबद्धता रहेको पनि बताउनु भयो । उहाँले महिला सशक्तिकरणको काममा नेपालले छोटै समयमा फड्को मारेको उल्लेख गर्दै निराश नहुन पनि महिला अधिकारकर्मीहरुसँग आग्रह गर्नु भयो । अध्यक्ष ओलीले सामाजिक न्यायसहितको विकासका लागि पनि राज्यका सबै तहमा महिलाहरूको समान सहभागिता हुनुपर्ने कुरामा आफ्नो पार्टी सचेत रहेको पनि बताउनु भयो ।

सम्मेलनमा सार्क राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, बङ्गलादेश, श्रीलंका र अफगानिस्तानका महिला सांसदहरु, नागरिक समाजका अगुवा र महिला अधिकारकर्मीहरुसहित करिब ७० जनाको सहभागिता रहेको छ । स्थानीय सरकारमा महिला सहभागिताको विषयमा बहस गर्न र दक्षिण एसियाली महिलाहरूको राजनीतिक अधिकारका लागि संघर्षरत महिला राजनीतिककर्मीहरु तथा अधिकारकर्मीहरुप्रति ऐक्यवद्धता जनाउन सम्मेलन आयोजना गरिएको अखिल नेपाल महिला सङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *