चुल्होचौको छाडेर पुनः निर्माणमा होमिए एकल महिला

प्रशन्न पोखरेल, गोरखा । श्रीमान् सुकबहादुर चेपाङको अल्पायुमै गत कात्तिकमा निधन भएपछि गोरखाको गण्डकी गाउँपालिका मकैसिङस्थित कोलडाँडाकी ३४ वर्षीया चन्द्रा चेपाङ आफैँ घर बनाउने (डकर्मी) काममा सक्रिय हुन थाल्नुभयो । श्रीमान्, श्रीमतीको कमाइले जसोतसो हातमुख जोर्दै आएको चेपाङ परिवारमा सुकबहादुरको निधनपछि आम्दानी स्वाट्टै घट्यो । दुई छोरा र एक छोरीलाई लालनपालनदेखि शिक्षादीक्षामा समस्या आइप¥यो । “बिहान खाए बेलुकी के खाने ? बेलुकी खाए भोलिपल्ट बिहान के खाने ? संकट आइप¥यो”, बितेका कुरा स्मरण गर्दै चन्द्राले भन्नुभयो, “श्रीमानको अभावमा परिवार धान्न मुस्लिक पर्दै गएपछि जे आइपर्छ त्यही काम गर्न थालें । पहिले माटो मुछ्ने काम गर्थें, अहिले घरको गारो लगाउने काम पनि गर्छु ।”

तीन कक्षा पढेर विद्यालय छाडेकी चन्द्राले आफ्ना छोराछोरीलाई गतिलो विद्यालयमा पढाउने योजना राख्नुभएको छ । अर्थ अभावले समयमा खान, मौसम अनुसारका कपडा लगाउन तथा कापी कलम जुटाउन नसक्दा छोराछोरीको विद्यालय जाने क्रम नियमित छैन । घर बनाउने काम हत्तपत्त महिलालाई दिँदैनन् । घर बनाउने ठेक्का लिन सक्ने आँट आफूमा नभएको बताउँदै चन्द्राले भन्नुभयो, “भूकम्पले गाउँलेका घर भत्किएको छ । सबैले नयाँ, नयाँ घर बनाउन शुरु गरेका छन् तर भनेका बेला काम पाइँदैन । पाएसम्म पुरुष कामदार खोजेर काम लगाउँछन् ।”

पुरुष कामदारसरह नै काम गरेको भए पनि समान ज्याला नपाइने गुनासो चन्द्राको छ । उहाँले भन्नुभयो, “दिनभर मरिमेटेर काम ग¥यो रु १५०/२०० भन्दा धेरै ज्याला पाइँदैन । त्यही काम पुरुषले गर्दा रु ५०० भन्दा धेरै खान्छन्, ज्यालामा विभेद हटाउन कसैले सकेनन् ।” भूकम्पले धेरै घर भत्काएपछि अब बलियो घर बनाउनुपर्छ भन्दै घरधनीले तालीम लिएका कामदारलाई मात्रै घर पुनः निर्माणमा लगाउने गरेका छन् । मानव अधिकारका लागि महिला एकल महिला समूह गोरखाले उपलब्ध गराएको ५० दिने डकर्मी तालीम लिनुभएकी चन्द्राले पनि भूकम्प प्रतिरोधी घर बनाउन सक्नुहुन्छ ।

उहाँले भन्नुभयो, “ढुङ्गा, माटो र काठका जोडाइले बनाइने घर कसरी बलियो बनाउने भन्ने राम्रोसँग ज्ञान छ । काम गर्नका लागि सामग्रीहरु पनि छ । गल, घन, चुच्चे, साबेल, टेप, हेल्मेटलगायत १६ प्रकारका सामान संस्थाले नै सिट्टैमा दिएको छ ।” बलियो घर बनाउन सैद्धान्तिक र प्रयोगात्मक सीप प्राप्त उहाँजस्तै शहीदलखन गाउँपालिका र गण्डकी गाउँपालिकाका ५० जना एकल महिला चुल्होचौकाको काम छाडेर जीवनसँग सङ्घर्ष गर्दै पुनः निर्माणका काममा होमिएका छन् ।

गण्डकी गाउँपालिकाकी निरमाया श्रेष्ठले आफूहरु घर निर्माणका काममा होमिएको बताउँदै भन्नुभयो, “तालीम नलिँदा पनि घर बनाउने काममा सक्रिय थियौँ । तालीम लिएपछि अब घर बनाउने काम गर्दै हिँड्ने हो । जहाँ काम छ त्यही काम गर्न जान्छौँ, कमाएर परिवार पाल्नु छ ।” श्रीमान्को निधनपछि ‘रातो कपडा’ लगाउन नदिने विभेदयुक्त नेपाली समाजमा महिलाले पनि घर बनाउन सक्छन् भनेर देखाउनुपर्ने एकल महिला बताउँछन् । एकल महिला पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने उदाहरणीय काम गर्ने उनीहरुले बताए ।

युएन ओमनको आर्थिक सहयोगमा मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) गोरखाले तीनवटा समूह बनाएर मकैसिङ, ताङ्लीचोक, घैरुङ, बुंकोटलगायत साबिक छवटा गाविसका एकल महिलालाई डकर्मी तालीमका साथै १६ प्रकारका औजार निःशुल्क उपलब्ध गराएको संस्थाकी सचिव मीना अधिकारीले जानकारी दिनुभयो । ५० जना महिलालाई ५० दिने डकर्मी तालीम दिँदा संस्थाले रु २९ लाख खर्च गरेको संस्थाका कार्यक्रम संयोजक धर्म बजगाईंले बताउनुभयो । ५० जनालाई यातायात खर्च र एकेक थान गल, घन, घण्टी, छिनु, हेल्मेट, पन्जा, साबेल, कोदालो, मार्तोललगायत पुनः निर्माणमा आवश्यक पर्ने सामग्री वितरण गरिएको संस्थाकी अध्यक्ष सरिता ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एकल महिलालाई चुल्होचौकाबाट ओराले दक्ष जनशक्ति उत्पादन गरेका छौँ । अब यी जनशक्तिले घर निर्माण गर्नुपर्छ र जनशक्ति अभाव परिपूर्ति गर्नुपर्छ ।” तालीम लिएका ५० जना महिलाले कस्तो सीप जाने भन्नेबारे सिटिइभिटीबाट सीप परीक्षा लिइएको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “साउन १२ देखि १६ गतेसम्म सिटिइभिटीका प्राविधिकहरु आएर एकल महिलाले सिकेका सीपबारे परीक्षा लिएर जानुभएको छ । करिब एक महिनापछि प्रमाणपत्र आउँछ ।” तालीम प्राप्त जनशक्तिलाई गाउँपालिका क्षेत्रभित्र घरहरु पुनःनिर्माणको काममा सक्रिय बनाउन गाउँपालिका अध्यक्ष रमेश थापालाई सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले आग्रह गर्नुभयो ।

कामदारको अभावले पुनःनिर्माणको काम ढिलाइ भएको प्रति लक्षित गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय गोरखाका प्रमुख राजेन्द्र कार्कीले उत्पादित दक्ष जनशक्ति बिना हिचकिचहबाट पुनःनिर्माणका काममा सक्रिय हुनुपर्ने बताउनुभयो । भूकम्पपछि विभिन्न सङ्घसंस्थाले करिब पाँच हजार जना दक्ष जनशक्ति उत्पादन गरेको तथ्याङ्क रहे पनि गाउँमा कामदारको अभाव हटेको छैन । पछिल्लो समय पुरुषसरह महिला पनि घर पुनः निर्माणका काममा सक्रिय हुँदै गएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *