देवानगञ्ज गोली प्रकरण: एकको मृत्यु, १६ जना घाइते, प्रहरी बल प्रयोगमाथि उठ्यो प्रश्न

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा मध्यराति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा ८ जना प्रदर्शनकारी र ८ जना प्रहरीसहित कम्तीमा १६ जना घाइते भएका छन्।
घटनापछि अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार देवानगञ्ज क्षेत्रसहित प्रभावित पाँच स्थानमा थप हिंसा र अप्रिय घटना हुन नदिन अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो। कर्फ्यु अवधिमा अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ।
प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यकताअनुसार अन्य सुरक्षा निकायको परिचालन बढाइएको छ।
प्राप्त जानकारीअनुसार मध्यराति दुई समूहबीच सुरु भएको विवाद उग्र बनेपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा तथा आक्रमण गरेको र केही सुरक्षाकर्मी घाइते भएको जनाएको छ ।
प्रहरीका अनुसार स्थिति नियन्त्रणबाहिर जाने अवस्था सिर्जना भएपछि सुरुमा सम्झाइ–बुझाइ, लाठीचार्ज र अश्रुग्याँस प्रयोग गरिएको थियो। ती उपाय प्रभावकारी नभएपछि प्रहरी तथा सर्वसाधारणको जिउधनको सुरक्षा गर्न बाध्य भएर गोली चलाउनुपरेको हो । घटनाको विस्तृत अनुसन्धान भइरहेको र आवश्यक तथ्य सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
स्थानीयको आरोप: प्रहरीले अनावश्यक बल प्रयोग गर्यो
घटनापछि स्थानीयवासीले प्रहरी प्रशासनमाथि गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार प्रहरीले भीड नियन्त्रणका क्रममा कम्मरभन्दा माथि लक्षित गरी गोली चलाएको थियो। अस्पतालमा उपचाररत घाइतेहरूको शरीरमा लागेको गोलीको अवस्थाले पनि प्रहरीको बल प्रयोग आवश्यकताभन्दा बढी भएको देखिएको उनीहरूको दाबी छ।
स्थानीयले घटनाको न्यायिक तथा निष्पक्ष छानबिन गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
नेपाल प्रहरीको बल प्रयोगसम्बन्धी कार्यविधिअनुसार प्राणघातक हतियारको प्रयोग अन्तिम विकल्पका रूपमा मात्र गर्नुपर्ने व्यवस्था छ। परिस्थितिअनुसार न्यूनतम आवश्यक बल प्रयोग गर्नुपर्ने कानुनी सिद्धान्त रहेकाले यस घटनामा बल प्रयोग मापदण्डअनुसार थियो वा थिएन भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।
घटनास्थल पुगे सांसद लालविक्रम थापा
घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद लालविक्रम थापा घटनास्थल तथा अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझिरहेका छन्। उनले घाइते, मृतकका आफन्त, स्थानीय प्रशासन र सुरक्षा अधिकारीसँग छलफल गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न, निष्पक्ष छानबिन गर्न तथा पीडितलाई न्याय दिलाउन पहल गरिरहेको बताएका छन् ।
सांसद थापाले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाउँदै सत्य तथ्य छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने बताए ।
घटनापछि देवानगञ्जसहित आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा अपुष्ट सूचना नफैलाउन र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।








