अवैध चुनावी सर्वेक्षण प्रकरणः सोलका मेयरलाई जरिवाना, पद गुम्न सक्ने खतरा

एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलका मेयर ओ से–हुनलाई राजनीतिक कोष ऐन उल्लंघन गरेको अभियोगमा अदालतले जरिवाना गर्ने फैसला सुनाएको छ ।

गैरकानूनी चुनावी सर्वेक्षणसँग जोडिएको यस मुद्दामा दोषी ठहर भएसँगै उनको मेयर पद धरापमा परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोल केन्द्रीय जिल्ला अदालतले बुधवार मेयर ओलाई १ करोड वन (करिब ६,७६० अमेरिकी डलर) जरिवाना गर्ने फैसला सुनाएको हो ।

दक्षिण कोरियाली कानूनी प्रावधानअनुसार यदि सर्वोच्च अदालतले तल्लो अदालतको यो फैसलालाई सदर गरेमा उनले आफ्नो मेयर पद गुमाउनुपर्नेछ । अदालतको फैसलाअनुसार मेयर ओले आफ्ना समर्थकको खर्चमा जनमत सर्वेक्षण गराएका थिए ।

समर्थकद्वारा बेहोरिएको उक्त चुनावी सर्वेक्षणको खर्चलाई अदालतले अवैध राजनीतिक कोषको रूपमा व्याख्या गरेको छ । पूर्वराष्ट्रपति युन सुक–योल र उनकी पत्नी किम क्योन–ही संलग्न भ्रष्टाचार काण्डको अनुसन्धान गरेको विशेष टोलीले मेयर ओलाई डेढ वर्षको जेल सजाय हुनुपर्ने माग गरेको थियो । मेयर ओले भने अदालतको यो निर्णयविरुद्ध पुनरावेदन गर्ने घोषणा गरेका छन् ।

मेयर ओमाथि सन् २०२१ को सोल मेयर उपनिर्वाचन अघि कथित राजनीतिक मध्यस्तकर्ता म्योङ ते–क्युनबाट १० पटक चुनावी सर्वेक्षणको नतिजा प्राप्त गरेको र त्यसको भुक्तानी आफ्ना पुराना आर्थिक समर्थक किम हान–जुङमार्फत गराएको अभियोगमा डिसेम्बर २०२५ मा मुद्दा दायर गरिएको थियो ।

दक्षिण कोरियाको कानूनअनुसार अन्तिम फैसलामा १० लाख वनभन्दा बढी जरिवाना भएमा जनप्रतिनिधिको पद स्वतः खारेज हुने व्यवस्था छ । यस मुद्दाको अन्तिम फैसला यसै वर्षको अन्त्यसम्ममा आउने अपेक्षा गरिएको छ ।

यसै प्रकरणसँग जोडिएका पूर्व राष्ट्रपति युनलाई पनि सन् २०२२ को राष्ट्रपति निर्वाचनअघि सोही मध्यस्तकर्ताबाट ५८ पटक निःशुल्क सर्वेक्षण गराएको अभियोगमा गत जुलाई १३ मा दुई वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =