कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या करिब हजार पुग्यो

काठमाडौं । कङ्गोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार पुगेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार यस प्रकोपमा हालसम्म कम्तीमा ९९९ जनाको मृत्यु भएको छ ।

कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा दुई हजार ४७३ जना सङ्क्रमित भएका छन् भने ७३७ जना बिरामी आइसोलेसन र अस्पतालमा उपचाररत छन् । गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको मध्ये एक भएको अधिकारीले बताएका छन् । यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ भाइरसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन ।

स्वास्थ्य अधिकारीका अनुसार यस प्रकोपले विगतका ठूला इबोला प्रकोपको तुलनामा छोटो समयमै ठूलो मानवीय क्षति पु¥याएको छ । सन् २०१३–२०१६ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो, तर मृत्यु सङ्ख्या एक हजार पुग्न करिब आठ महिना लागेको थियो ।

इबोला अत्यधिक सङ्क्रामक रोग हो, जुन सङ्क्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थलगायतको सम्पर्कबाट सर्न सक्छ । यो रोग गम्भीर प्रकृतिको हुने र धेरै अवस्थामा ज्यान जोखिममा पार्ने स्वास्थ्य विज्ञले बताएका छन् । अधिकारीले नयाँ सङ्क्रमित मध्ये करिब ८० प्रतिशतमा सङ्क्रमणको स्रोत अझै पहिचान हुन नसकेको बताएका छन् ।

यसले सङ्क्रमण नियन्त्रण र निगरानीकार्य थप चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ । प्रकोपको केन्द्रबिन्दु रहेको इतुरी प्रान्तसहित प्रभावित अन्य क्षेत्रमा स्वास्थ्य टोलीले नियन्त्रण तथा उपचार प्रयास तीव्र बनाएका छन् । तर स्वास्थ्य केन्द्र र प्रतिकार्य टोलीमाथि भएका आक्रमण तथा केही स्वास्थ्यकर्मीको आन्दोलनका कारण अभियान प्रभावित भएको छ ।

अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक डा जीन कासेयाले घानामा आयोजित स्वास्थ्य सम्मेलनमा प्रकोप नियन्त्रणका लागि तत्काल थप प्रयास आवश्यक रहेको बताए । “यदि हामीले अहिले नै यसलाई रोक्न सकेनौँ भने यो विश्वले देखेका सबैभन्दा गम्भीर इबोला प्रकोपमध्ये एक बन्न सक्छ,” उनले चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =