तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ

काठमाडौं । जलवायु परिवर्तनका कारण तातो दिन तथा तापसम्बन्धी घटना बढ्दै गएकाले त्यस प्रभावमा आधारित मौसम पूर्वानुमानलाई दिगो र प्रभावकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपालमा तापक्रमजन्य अवस्थाका लागि प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी आज आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीमो जलवायु परिवर्तनका कारण तातो दिन र तापसम्बन्धी घटना बढ्दै गएको तथ्याङक प्रस्तुत गरियो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले विभागले जारी गर्ने मौसम तथा तापक्रमको प्रभावमा आधारित पूर्वानुमानले जनचेतना अभिवृद्धि र पूर्वतयारीमा सकारात्मक प्रभाव पार्न थालेको बताए ।

मौसमविद् रोजन लामिछानेले तापक्रमको असरले जनजीवन र धनजनमा कस्तो प्रभाव पर्छ भन्ने विषयलाई समेटेर प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीलाई थप व्यवस्थित रूपमा अघि बढाइने बताए ।

गौर नगरपालिकाकी प्रतिनिधि रोश्नीकुमारी श्रेष्ठले गौर नगरपालिकाले वि.स २०७६ देखि नै आपत्कालीन कार्यसञ्चालन कार्यविधि लागू गरी प्रभावमा आधारित पूर्वानुमान, पूर्वसूचना र पूर्वकार्यलाई स्थानीय तहमा कार्यान्वयन गर्दै आएको बताइन् ।

उनले तातो हावाको लहरबाट नागरिकलाई जोगाउन जनचेतना आवश्यक रहेको उल्लेख गर्दै चेतावनीको प्रभावकारी बुझाइ सुनिश्चित गर्नु अझै चुनौतीपूर्ण रहेको धारणा राखिन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा तातो हावाको लहर तीव्र बन्दै गएको बताए ।

कार्यशालामा तापक्रमजन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रभावमा आधारित पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी बनाउने, पूर्वसूचना प्रणाली सुदृढ गर्ने तथा विभिन्न निकायबीच समन्वय बढाउने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =