अनशन तोड्नुअघि वाङचुकले राखे यस्तो सर्त

काठमाडौं । शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा रहेका भारतीय शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकले अनशन अन्त्य गर्नुअघि सरकारसमक्ष एउटा स्पष्ट सर्त राखेका छन् ।

आइतबार जारी गरेको विज्ञप्तिमार्फत वाङचुकले आन्दोलनमा सहभागी युवामाथि कुनै पनि प्रकारको दण्डात्मक वा प्रतिशोधपूर्ण कानुनी कारबाही नगर्ने स्पष्ट सरकारी आश्वासन प्राप्त भए मात्रै आफूले अनशन तोड्ने बताएका हुन् ।

भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जे.पी. नड्डा र केन्द्रीय मन्त्री जितेन्द्र सिंहलाई सम्बोधन गर्दै सार्वजनिक गरेको पत्रमा वाङचुकले अस्पतालमा आएर स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेको तथा अनशन तोड्न गरेको आग्रहप्रति धन्यवाद दिएका छन् ।

वाङचुकका अनुसार भेटका क्रममा सरकारले प्रश्नपत्र चुहावटपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा जवाफदेहिता सुनिश्चित गर्न संसद्मा अर्थपूर्ण छलफल गर्ने, जसमा शिक्षा मन्त्रीको राजीनामाको विषयसमेत विचार गरिने आश्वासन दिएको थियो ।

पत्रमा उनले जुलाई २० मा आयोजित संसद् मार्च प्रहरीको बल प्रयोगका बाबजुद शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै आन्दोलनमा सहभागी युवामाथि कुनै कानुनी मुद्दा, उत्पीडन वा प्रतिशोधपूर्ण कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन् । युवाहरूले निष्पक्ष र जवाफदेही शिक्षा प्रणालीको माग गर्दै लोकतान्त्रिक अधिकार प्रयोग गरेको उनको भनाइ छ ।

वाङचुकले विभिन्न राजनीतिक दलका करिब ६५ सांसदले पत्र लेखेर तथा प्रत्यक्ष भेटेर अनशन अन्त्य गर्न आग्रह गरेको जानकारी दिएका छन् । आफू बाँच्न चाहने, विद्यार्थी, शिक्षा र आफ्नो जीवन समर्पित कार्यमा फर्कन चाहने इच्छा व्यक्त गर्दै उनले आन्दोलनको उद्देश्य पूरा नभएसम्म अनशन अन्त्य गर्न नसक्ने बताएका छन् ।

उनले आन्दोलनमा सहभागी युवामाथि कुनै कारबाही नहुने स्पष्ट आश्वासन दिए आफू लाखौँ भारतीय युवाको आवाज सुनिएको विश्वासका साथ अनशन तोड्न तयार रहेको उल्लेख गरेका छन्। अन्यथा, अनिश्चितकालीन अनशन जारी राख्ने उनको चेतावनी छ ।

पत्रको अन्त्यमा वाङचुकले लोकतन्त्रको भविष्य सरकारसँग सहमत हुने नागरिकसँग होइन, आफ्ना अधिकारका लागि शान्तिपूर्ण रूपमा आवाज उठाउने युवा नागरिकसँग राज्यले कस्तो व्यवहार गर्छ भन्ने कुराले निर्धारण गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =