साउन ७ देखि पुनः अनशन बस्ने डा.गोविन्द केसीको घोषणा

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै साउन ७ गतेदेखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन् ।
दार्चुलाबाट बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा गैरनाफामूलक सार्वजनिक सेवाको क्षेत्र भएको उल्लेख गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन नभएको बताएका छन् ।
डा. केसीले न्यूनतम मापदण्ड पूरा नगरेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजको प्रभाव नीति निर्माणदेखि सार्वजनिक संस्थाको नेतृत्व चयनसम्म देखिएको आरोप लगाएका छन् ।
सरकार निजी मेडिकल क्षेत्रको प्रभावमा परेको दाबी गर्दै उनले चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयहरूमा स्वार्थ बाझिने व्यक्तिलाई जिम्मेवारी दिइएको बताएका छन् ।
उनले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीका कारण ग्रामीण स्वास्थ्य सेवा सञ्चालन भइरहेको भन्दै छात्रवृत्ति सिट घटाउने र पूर्वाधारविहीन निजी कलेजमा सशुल्क सिट बढाउने नीतिले भविष्यमा सरकारी स्वास्थ्य संस्थामा चिकित्सक अभाव हुने चेतावनी दिएका छन् ।
डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियामाथि समेत प्रश्न उठाएका छन् । दरखास्त आह्वान हुनुअघि नै निश्चित व्यक्तिलाई नियुक्त गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको आरोप उनले लगाएका छन् ।
गेटा मेडिकल कलेजको विषयमा पनि उनले लामो संघर्षपछि सञ्चालनको तयारीमा पुगेको संस्थामा राजनीतिक र व्यापारिक स्वार्थअनुसार नयाँ संरचना थोपर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।
उनले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती तथा निजी कलेजमा सिट वृद्धि गर्ने निर्णय फिर्ता लिन, स्वार्थको द्वन्द्व हुने नियुक्ति खारेज गर्न, चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्न र विगतका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।
त्यस्तै, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका आधारभूत सेवा विस्तार गर्न तथा विभिन्न घटनाका दोषीमाथि कारबाही गर्न पनि उनले माग राखेका छन् ।
सरकारलाई माग सम्बोधनका लागि साउन ५ गतेसम्म समय दिइएको भए पनि कुनै प्रतिक्रिया नआएकाले पुनः सत्याग्रह सुरु गर्न लागेको डा. केसीले बताएका छन् ।
‘जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारप्रति सरकारले देखाएको असंवेदनशीलताका कारण म साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्दै छु । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्नेछ,’ उनले विज्ञप्तिमा भनेका छन् ।








