अमेरिकी आक्रमण भए मध्यपूर्वमा युद्ध विस्तार गर्ने इरानको चेतावनी

तेहरान । यदि अमेरिकाले इरानको आणविक र अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गर्यो भने तेहरानले अमेरिका र अमेरिकाका सहयोगीलाई लक्षित गरी आफ्नो आक्रमण विस्तार गर्ने इरानको मुख्य सैन्य कमान्ड, खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले बुधबार चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले मध्य प्रान्त इस्फहानको पहाडमुनि रहेको इरानी आणविक सुविधामा छिट्टै आक्रमण गर्ने भनी दिएको धम्कीको प्रतिक्रियामा इरानले यस्तो प्रतिक्रियात्मक चेतावनी दिएको जनाइएको छ ।
सैनिक मुख्यालयले संयुक्त राज्य अमेरिकाले इरानको आणविक र संवेदनशील केन्द्रहरूमा आक्रमण गर्ने धम्की कार्यान्वयनको चरणमा प्रवेश गरेमा इरानले प्रतिक्रियामा मध्यपूर्व क्षेत्रमा युद्धको विस्तार गरी संयुक्त राज्य अमेरिका र यसका सहयोगी तथा समर्थकहरूको हितविरुद्ध शक्तिशाली आक्रमण गर्ने जनाएको छ ।
यसैबीच इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले आफ्नो आधिकारिक समाचार पोर्टल सेपाह न्युजमा विज्ञप्ति प्रकाशित गर्दै इरानी सेनाले कुवेतको अली अल सलेम एयर बेस वरपरको प्रारम्भिक चेतावनी रडार प्रणाली र वरपरका धेरै सुरक्षासँग सम्बन्धित रडारहरू नष्ट गरेको जनाएको छ ।
होर्मुजको जलमार्गमा इरानी सेनाले जहाजहरूलाई लक्षित गरी गरेको आक्रमणको प्रतिक्रियामा आक्रमण गरेको जनाउँदै अमेरिकाले आक्रमणको उद्देश्य व्यापारिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई कम गर्नु रहेको जनाएको छ ।
इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य सुविधालगायत अन्य अमेरिकी सुविधाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणको लहरमार्फत प्रतिक्रिया दिएको जनाएको छ ।
गत जुन–१८ मा हस्ताक्षर गरिएको शान्ति सम्झौताको बावजुद पछिल्लो समयमा तनाव बढेको छ, जसमा दुई देशहरूले अन्तिम सम्झौतामा पुग्नका लागि ६० दिनभित्र निर्णायक वार्ता गर्ने विषय तय गरिएको थियो ।








