काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सम्पन्न भएको छ ।

महानगरको टेकुमा निर्माणाधीन आठ तले प्रशासनिक भवनको निर्माण सुरु भएको ९४ दिनमै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिए ।

उनका अनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको काम सुरु भएको हो । हाल बेसमेन्ट निर्माण सम्पन्न भइसकेको छ भने बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको छ ।

निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको भन्दै भट्टले सम्झौता अवधिभन्दा अगावै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।

‘काठमाडौं महानगरपालिकाको भवन बनाउन हामीले चैत २२ गतेबाट प्रोजेक्ट सुरु गरेका हौँ । आजसम्म ९४ दिन भएको छ । हामीले ३० प्रतिशत वित्तीय र ३५ प्रतिशत भौतिक प्रगति गरिसकेका छौँ,’ उनले भने ।

भवन निर्माण सम्पन्न गरी २०८४ कात्तिक २२ गतेभित्र हस्तान्तरण गर्नुपर्ने सम्झौता रहेको उनले जानकारी दिए । ‘हामी सकभर तोकिएको समयभन्दा चाँडो नै काम सम्पन्न गर्ने तयारीमा छौँ,’ भट्टले भने ।

उनका अनुसार हाल निर्माणस्थलमा दक्ष र अदक्ष गरी ७० जना कामदार परिचालन गरिएको छ । त्यस्तै प्रोजेक्ट म्यानेजर, साइट सुपरभाइजरलगायत १० जना प्राविधिक जनशक्ति पनि खटिएका छन् ।

निर्माणस्थलमा आवश्यक सुरक्षा मापदण्ड र सेफ्टी प्रोटोकल पालना गर्दै काम भइरहेको उनले बताए ।

महानगरको करिब ६ रोपनी जग्गामा निर्माण भइरहेको उक्त प्रशासनिक भवनको बुधबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा डंगोलले तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =