टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माण कार्य मंसिर अगावै सम्पन्न गरी केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।

बुधबार निर्माणाधीन केन्द्रको स्थलगत अवलोकनपछि डंगोलले केन्द्र सञ्चालनमा आएपछि काठमाडौंको फोहोर व्यवस्थापन प्रणाली थप आधुनिक र व्यवस्थित हुने बताइन् ।

उनका अनुसार हाल विभिन्न स्थानमा खुला रूपमा फोहोर छुट्याउने गरिएको छ । यसले प्रदूषण बढाउनुका साथै स्वास्थ्य जोखिमसमेत निम्त्याउने भएकाले व्यवस्थित फोहोर व्यवस्थापनका लागि टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गरिएको हो ।

‘यो स्थानान्तरण केन्द्रको मुख्य उद्देश्य भनेको जैविक र अजैविक फोहोर छुट्याउनु हो । अजैविक फोहोरलाई पुनः प्रयोगका लागि पठाइनेछ भने जैविक फोहोरलाई बञ्चरेडाँडामा व्यवस्थापन गरिनेछ,’ डंगोलले भनिन् ।

महानगरका अनुसार केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी (एमआरएफ) रहनेछ । जहाँ फोहोरलाई यान्त्रिक प्रणालीमार्फत वर्गीकरण गरिनेछ ।

डंगोलले हाल फोहोर छुट्याउने काम धेरै ठाउँमा मानिसहरूले हातैले गर्दै आएको भन्दै अब भने केन्द्र सञ्चालनमा आएपछि यान्त्रिक विधिबाट फोहोर छुट्याउने व्यवस्था गरिने बताइन् ।

‘अहिले फोहोर छुट्याउने काम हातैले भइरहेको छ । निर्माण सम्पन्न भएपछि यहीँबाट यान्त्रिक विधिबाट पनि फोहोर छुट्याउने प्रणाली सञ्चालनमा ल्याइनेछ,’ उनले भनिन् ।

उनका अनुसार केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा जाने फोहोरको मात्रा समेत घट्नेछ । पुनः प्रयोग गर्न मिल्ने सामग्री छुट्याएर प्रयोगमा ल्याउने र जैविक फोहोरलाई कम्पोष्ट मल उत्पादनमा उपयोग गर्ने महानगरको योजना रहेको छ ।

महानगरले यो आयोजना मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । तर सकेसम्म छिटो निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 12 =