वीपी स्मृति दिवसमा काँग्रेसले जलवायु जनचेतना अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली काँग्रेसले वीपी कोईरालाको ४२ औँ स्मृति दिवसमा साउन ६ र ७ गते देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । यस वर्षको स्मृति दिवसलाई मुख्य रूपमा जलवायु परिवर्तन र वातावरणीय जनचेतनासँग जोडेर ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विश्वप्रकाश शर्माले बिपी कोइरालाले प्रधानमन्त्री रहँदा वनको राष्ट्रियकरण गर्ने ऐतिहासिक निर्णय गरेको र पार्टीको चुनाव चिह्न ‘रुख’ छनोट गर्नुले उनको वातावरणीय दूरदर्शिता झल्काउने बताए । सोही विरासतलाई आत्मसात् गर्दै विश्वव्यापी जलवायु संकटको समयमा हिमाल र पृथ्वीको रक्षाका लागि यो अभियान सुरु गरिएको उनले स्पष्ट पारे ।

साउन ६ गते बिहान ६ बजे ललितपुरको युएन पार्कबाट ‘ग्रिन रन’ (दौड) आयोजना गरिने जानकारी दिए । यस अन्तर्गत प्रतिष्पर्धीहरूका लागि युएन पार्कदेखि जावलाखेलसम्म ५ किलोमिटर र अप्रतिष्पर्धीहरूका लागि २.५ किलोमिटरको रुट तय गरिएको छ । यस दौडमा सहभागी हुन इच्छुकले साउन ४ गते मध्यरातसम्म अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् ।

यस दौडको विशेष उद्देश्य मानवीय सहयोग पनि रहेको उपसभापति शर्माले बताए । सहभागी संख्याका आधारमा पार्टीले निश्चित रकम जम्मा गरी एउटा ‘मानवीय सहयोग कोष’ निर्माण गर्नेछ । उक्त कोषको रकम वर्षाका कारण विस्थापित भएका सुकुम्बासी बस्तीका बालबालिका र ज्येष्ठ नागरिकको हितमा खर्च गरिने उपसभापति शर्माले जानकारी दिए ।

दौडमा विजयी हुनेहरूका लागि नगद पुरस्कार, ट्रफी र मेडलको व्यवस्था गरिएको छ । सोही दिन जावलाखेलमा ‘ग्रिन टेबल’ संवाद आयोजना गरिनेछ, जहाँ जलवायु परिवर्तन, प्रकृति, लोकतन्त्र र भावी पुस्ताका विषयमा विज्ञहरूसँग प्यानल छलफल हुनेछ । कार्यक्रम स्थलमा २० जना ख्यातिप्राप्त चित्रकारहरूले जलवायु परिवर्तनको असर झल्काउने ‘लाइभ पेन्टिङ’ समेत गर्नेछन् । सहभागीहरूलाई पार्टीको तर्फबाट उपहारस्वरूप बिरुवा वितरण गरिने उनले बताए ।

साउन ७ गते राष्ट्रिय सभागृहमा अपराह्न २ बजे ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गरिने छ । सोही अवसरमा सभापति गगन थापाले एक नयाँ अभियानको घोषणा गर्ने कार्यक्रम रहेको पनि शर्माले जानकारी दिए ।

नेपाली काँग्रेसले यो अभियानलाई केवल राजनीतिक कार्यक्रममा मात्र सीमित नराखी पृथ्वी र हिमाल जोगाउने साझा एजेण्डाका रूपमा अघि बढाएको भन्दै अन्य राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई ऐक्यबद्धताका लागि अपिल समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =