बिजौरी आयुर्वेद चिकित्सालयमा बिरामीको आकर्षण बढ्दो

दाङ । दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । आयुर्वेद उपचारप्रति नागरिकको विश्वास बढ्दै गएसँगै लुम्बिनी प्रदेश सरकारले चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिसकेको छ ।

चिकित्सालयका निमित्त निर्देशक डा प्रवेश श्रीवास्तवका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा एक लाख ६२ हजार ५४२ जनाले विभिन्न सेवा लिएका छन् । यस अवधिमा नौ हजार ४०२ जनाले पाइल्स तथा फिस्टुला, छ हजार ६६० जनाले अम्लपित्त र छ हजार २३१ जनाले वातसम्बन्धी रोगको उपचार गराएका छन् ।

उनकाअनुसार चिकित्सालयले परम्परागत आयुर्वेद उपचारसँगै आधुनिक प्रविधिमा आधारित सेवा विस्तार गरेको छ । पूर्णकालीन पञ्चकर्म सेवा, क्षारसूत्र शल्यक्रिया तथा मानसिक रोगसम्बन्धी विशिष्टीकृत सेवा नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन चिकित्सालयले डिजिटल वडापत्र र टोकन प्रणाली लागू गरेको छ । बालबालिकाको स्वास्थ्य प्रवद्र्धन तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि पाँच हजार ३७९ बालबालिकालाई डिजिटल प्रणालीमार्फत स्वर्णविन्दु प्राशन गराइएको डा श्रीवास्तवले जानकारी दिए ।

प्रयोगशाला सेवामा पनि सुधार गरिएको छ । आधुनिक सीएलआईए, एनालाइजर तथा डिजिटल एक्सरे उपकरण सञ्चालनमा आएपछि रोग पहिचान र उपचार अझ प्रभावकारी बनेको उहाँको भनाइ छ । सेवाको गुणस्तर मापन गर्ने एमएसएस स्कोर ८४.९३ पुगेको चिकित्सालयले जनाएको छ ।

बिरामीको चाप बढ्दै जाँदा जनशक्ति र भौतिक पूर्वाधार भने चुनौतीका रूपमा रहेका छन् । चिकित्सालयमा स्वीकृत ३५ दरबन्दीमध्ये हाल २१ जना मात्र स्थायी कर्मचारी कार्यरत छन् भने ११औँ तहको निर्देशकसहितका महत्त्वपूर्ण विशेषज्ञ पद रिक्त छन् ।

हालको अन्तरङ्ग भवन पुरानो र साँघुरो भएकाले बढ्दो सेवाको चाप व्यवस्थापन गर्न कठिनाइ भइरहेको र छुट्टै प्रशासनिक भवन आवश्यक रहेको डा श्रीवास्तवले बताए । आफ्नै औषधि उत्पादनका लागि निर्माणाधीन भवन अझै हस्तान्तरण हुन नसकेको तथा ढल व्यवस्थापनसम्बन्धी समस्या समाधानलाई पनि चिकित्सालयले आगामी योजनामा प्राथमिकता दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =