शैक्षिक परामर्श नियमावली संशोधन मागमा एफएनसीसीआईको ऐक्यबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले उठाएका शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ सम्बन्धी संशोधनका मागप्रति ऐक्यबद्धता जनाएको छ ।
इक्यानले वस्तुगत सदस्यका रूपमा एफएनसीसीआईसमक्ष पेश गरेको नियमावली संशोधनसम्बन्धी मागमा महासंघले समर्थन जनाउँदै शिक्षा तथा खेलकुद मन्त्रालयमा औपचारिक पहल गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको हस्ताक्षरमा शिक्षा तथा खेलकुदमन्त्रीलाई पठाइएको पत्रमा नियमावलीका केही प्रावधानले निजी क्षेत्रको लगानी, रोजगारी, व्यवसायिक वातावरण र उद्यमशीलतामा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ ।
महासंघले नियमावलीका व्यावहारिक पक्ष पुनरावलोकन गरी आवश्यक संशोधन गर्न मन्त्रालयलाई आग्रह गरेको छ ।
पत्रमार्फत सरोकारवालासँग पर्याप्त छलफल नगरी ल्याइएका अव्यावहारिक प्रावधान पुनर्विचार गर्न, इक्यानलगायत सम्बन्धित पक्षको सहभागितामा कार्यदल गठन गरी समाधान खोज्न तथा निजी क्षेत्रको लगानी सुरक्षा र राज्यको नियामकीय भूमिकाबीच सन्तुलन कायम गर्न अनुरोध गरिएको छ ।
इक्यानले नेपालको निजी क्षेत्रको सर्वोच्च छाता संस्था एफएनसीसीआईले शैक्षिक परामर्श क्षेत्रका मागप्रति ऐक्यबद्धता जनाउँदै औपचारिक पहल गरेकोमा धन्यवाद व्यक्त गरेको छ ।
इक्यानले विद्यार्थी हित, गुणस्तरीय सेवा, निजी क्षेत्रको संरक्षण र व्यावहारिक नियमावली निर्माणका लागि सरोकारवाला पक्षसँग निरन्तर संवाद, सहकार्य र नीतिगत पहल जारी राख्ने जनाएको छ ।










