रामपुर क्याम्पसमा शिक्षामन्त्रीको अनुगमन: १५ वर्षे जग्गा विवाद सुल्झाउने प्रतिबद्धता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् ।

त्यसक्रममा मन्त्री पोखरेलले दुवै संस्थाबीच विगत १५ वर्षदेखि कायम रहेको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो भने कृषि तथा वन विज्ञान विश्वविद्यालय छुट्टै विश्वविद्यालय हो । मन्त्री पोखरेलले दुवै संस्थाको शैक्षिक, अनुसन्धान तथा प्रशासनिक गतिविधि, पूर्वाधार र प्रयोगशालाको अवलोकन गरी क्याम्पस तथा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र सरोकारवालासँग छलफल गरे ।

छलफलका क्रममा रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच लामो समयदेखि कायम रहेको जग्गा विवादका कारण दुवै संस्थाको शैक्षिक विकास, पूर्वाधार विस्तार तथा दीर्घकालीन योजना प्रभावित भएको विषय उठाइएको थियो ।

शिक्षा मन्त्री पोखरेलले सरकारले समन्वयात्मक र कानुनी प्रक्रियामार्फत विवाद समाधानको पहल गर्ने बताउँदै रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको शैक्षिक हित सुरक्षित हुने गरी समाधान खोजिने स्पष्ट पारे ।

उनले यी शैक्षिक संस्थाहरू नेपालको कृषि शिक्षा, अनुसन्धान, प्रविधि विकास तथा दक्ष जनशक्ति उत्पादनका महत्त्वपूर्ण आधार भएकाले कुनै पनि संस्थालाई कमजोर बनाउने नभई दुवैलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारले आवश्यक पहल गर्ने बताए ।

सरोकारवालाहरूले सरकारको सक्रिय पहलबाट १५ वर्षदेखि कायम विवाद अन्त्य भई दुवै संस्थाको शैक्षिक तथा अनुसन्धान गतिविधिले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् ।

अनुगमनमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य प्रभा ढकाल तथा शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र सरोज गौतम सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =