नागढुङ्गा सुरुङमार्गमा दौड तथा पदयात्रा

काठमाडौं । सडक विभाग र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ गरिएको छ ।
नागढुङ्गा सुरुङमार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले आज दौड तथा पदयात्रा गरिएको हो । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले नागढुङ्गा सुरुङमार्गको विषयमा सर्वसाधारणलाई आवश्यक जनचेतना अभिवृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ प्रवर्द्धनात्मक कार्यक्रम गरिएको जानकारी दिए ।
नागढुङ्गा-नौबिसे सुरुङमार्गअन्र्तगत दुई हजार ६८८ मिटर लम्बाइ रहेको छ । सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना सन् २०२३ अप्रिल २६ भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो ।
आयोजना निर्देशक नेपालले साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताए । आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नागढुङ्गा-नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन गुड्छन् ।
आयोजनाका निर्देशक नेपालले नागढुङ्गा-नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिनेमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए । आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुई पाङ्ग्रे सवारीसाधन भने चलाउन पाइने छैन ।








