चौतर्फि विवाद पछि ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाको बहुप्रतीक्षित चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘ताराबाजी लैलै’ सार्वजनिक भएको केही समयमै विवादमा परेपछि युट्युबबाट हटाइएको छ । गीतमा प्रयोग भएका शब्द र प्रस्तुतिले शिक्षक पेसाको गरिमामाथि आँच पुर्‍याएको भन्दै विभिन्न शिक्षक संगठन र सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र विरोध जनाएपछि निर्माण पक्षले गीत हटाउने निर्णय गरेको हो ।

गीतमा समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षकप्रति अपमानजनक, द्विअर्थी तथा अमर्यादित शब्द प्रयोग गरिएको आरोप लागेपछि नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समिति लगायतका संस्थाले आपत्ति जनाएका थिए । उनीहरूले गीत तत्काल हटाउन र सम्बन्धित पक्षले सार्वजनिक रूपमा माफी माग्न माग गरेका थिए ।

विवाद चुलिँदै गएपछि अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापा ले संयुक्त रूपमा सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै शिक्षक समुदायको भावनामा चोट पुगेकोप्रति दुःख व्यक्त गरेका छन् । उनीहरूले कसैको मानमर्दन गर्ने उद्देश्य नरहेको उल्लेख गर्दै सिर्जनाले अन्जानमै चोट पुर्‍याएको भए त्यसप्रति क्षमायाचना गरेका छन् । साथै, विवादलाई मध्यनजर गर्दै गीत युट्युबसहित डिजिटल प्लेटफर्मबाट हटाइएको जानकारी पनि दिएका छन् ।

यसअघि गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । धेरै दर्शकले गीतमा द्विअर्थी शब्दको अत्यधिक प्रयोग गरिएको, शिक्षकजस्तो सम्मानित पेसालाई होच्याइएको तथा चलचित्रको प्रचारका लागि अनावश्यक विवाद सिर्जना गरिएको टिप्पणी गरेका थिए ।

उक्त गीत आगामी नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि विशेष रूपमा तयार गरिएको थियो । चलचित्रमा भने यो गीत समावेश नभएको बताइएको छ । विवादपछि निर्माण पक्षले आलोचनालाई सम्मान गर्दै गीत हटाउने र भविष्यमा यस्ता विषयमा थप संवेदनशील हुने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =