एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी होइन, नवीकृत भएर अघि बढ्छ: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी नभएको भन्दै अगामी दिनमा नवीकृत हुँदै अघि बढ्ने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एमाले) अर्कालाई नसमातिकन उठ्न नसक्ने लहरो नभएको भन्दै आफ्नै बुतामा अगाडि बढ्ने बताए । उनले पार्टी र कार्यकर्ता पंक्तिलाई पर्याप्त प्रशिक्षित गर्न नसकेको कारण पार्टी कमजोर बनेको समेत बताए । उनले पार्टीमा आईटी प्रशिक्षण गर्न नसक्दा सूचना र प्रविधिको हमलामा पछि परेको बताए ।

उनले एमालेलाई अप्ठ्यारोतर्फ धकेल्ने प्रयास भइरहेको भन्दै पार्टीको पुनर्जागरण र पुनःउत्थानमार्फ त्यसलाई पराजित गर्नुपर्ने बताए ।

उनले भने ‘हामी यस्तो लहरो होइनौँ जसले अर्कालाई नसमातीकन उठ्न सक्दैन । हामी एउटा स्वतन्त्र वृक्ष हौँ । हामी दरो र मजबुत वृक्ष हौँ । अरूको बलमा उम्रेका पनि होइनौँ । हामी आफैँ उम्रिँदै हुर्किँदै मजबुत हुँदै अनेक आँधी, हुरी, तुफान, बाढी अनेक चिजहरूसँग सामना गरेर आएका छौँ । अर्को कसैलाई नसमातीकन उठ्न नसक्ने खालको त्यान्द्रो लहरो होइन एमाले । एमाले एउटा स्वतन्त्र हैसियत भएको पार्टी हो । हामी आफ्नै बुतामा आएका हौँ, अघि बढेका हौँ, फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै अगाडि बढ्छौँ । हामी माझ आएका चुनौतीहरूको सामना गर्दै तिनलाई पराजित गर्दै अगाडि बढ्छौँ । नेकपा एमाले परिस्थितिसँग आत्तिने अथवा मात्तिने गर्दैन ।  अनुकूलता आयो भने हौसिने र अलिकति प्रतिकूलता आयो भने निराश हुने पार्टी होइन । हरेक परिस्थितिहरू हामीले जितेका छौँ, सामना गरेका छौँ र अगाडि बढेका छौँ, बढ्छौँ ।’

उनले पार्टीले गरेका गतिविधिहरूलाई समाजसम्म पुर्याउन आआफ्नो ठाउँबाट भूमिका खेल्न समेत पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =