काँकडभिट्टा-लौकही सडक विस्तारमा विद्युतीय पोल वाधक: २९ महिनादेखि हटेन अवरोध

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माणाधीन काकडभिट्टा–लौकही सडक विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ ।

ठेक्का सम्झौता भई काम सुरु भएको २९ महिना बितिसक्दा पनि सडक क्षेत्रमा रहेका पोलहरू नहटाइँदा आयोजनाले लक्ष्यअनुसार भौतिक प्रगति हासिल हुन नसकेको हो ।

सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) ले सन् २०२४ फेब्रुअरी १ मा ठेक्का सम्झौता गरी यस आयोजनाको निर्माण कार्य अघि बढाएको थियो । चिनियाँ निर्माण कम्पनी सीआरएफजी र नेपाली कम्पनी टुण्डी जेभीले संयुक्त रूपमा निर्माण गरिरहेको यस सडकको हालसम्मको समग्र भौतिक प्रगति ४३ प्रतिशत पुगेको छ ।

कुल ४० किलोमिटर लम्बाई रहेको यस खण्डमा हालसम्म एकतर्फी १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि डोरमणि पौडेलकाअनुसार ग्रामीण तथा वन क्षेत्रमा काम गर्न समस्या नभए पनि बजार क्षेत्रमा विद्युतीय पोलका कारण अवरोध सिर्जना भएको छ । विशेषगरी दोस्रो खण्ड अन्तर्गत झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको क्षेत्रमा काम गर्न निकै असहज भएको उनले बताए ।

सकेसम्म छिटो गरौँ भनेर सुरु गर्दा पनि दुई वर्षसम्म पोल नसारिएकाले काम गर्न धेरै कठिन रहेको बताए ।

काकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख जगत प्रजापतीले सडक निर्माण सुरु हुनुभन्दा एक वर्ष अगावै नेपाल विद्युत् प्राधिकरणलाई पोल सार्नका लागि आवश्यक रकम भुक्तानी गरिसकिएको जानकारी दिए । ठेक्का लाग्नु भन्दा एक वर्षअघिबाटै विद्युत् प्राधिकरणसँग सम्झौता गरेको भएपनि पोल सार्ने काम पूरा नभएको बताए । यसले जोखिम बढाएको भन्दै आपत्ति जनाए । २ नम्बर प्याकजेमा अझै ३० प्रतिशत बढी पोलहरू हटाउन बाँकी रहेको बताए । असारसम्म पोल हटाइसक्नुपर्ने भनेपनि नहटाइएको उनको गुनासो छ ।

विद्युत् प्राधिकरणले असार मसान्तसम्म पोल सार्ने कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म ३० प्रतिशतभन्दा बढी पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ । पोल स्थानान्तरण नभएकै कारण झापाको दमक तथा मोरङको पथरी र मङ्गलवारे बजार क्षेत्रमा सडक निर्माणले गति लिन नसक्दा स्थानीयस्तरमा जनगुनासो समेत बढ्दो छ । हाल यो सडकलाई तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको कार्य भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =