औद्योगिक क्षेत्रको अनुगमन औपचारिकतामा मात्र सिमित भएको सांसदहरूको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले औद्योगिक क्षेत्रको अनुगमन प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले पूर्वसूचना दिएर गरिने अनुगमनले वास्तविक अवस्था देखाउन नसक्ने भन्दै आकस्मिक निरीक्षण (सरप्राइज भिजिट) को आवश्यकता औंल्याएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको स्थलगत अनुगमनपछि सांसदहरूले औद्योगिक क्षेत्रभित्र श्रमिकको अवस्था, जग्गा व्यवस्थापन, सरसफाइ र बिचौलियाको प्रभावलगायत विषयमा सुधार आवश्यक रहेको बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले औद्योगिक क्षेत्रको अनुगमन केवल औपचारिकतामा सीमित हुन नहुने बताए । उनले पूर्वसूचना दिएर गरिने निरीक्षणले वास्तविक अवस्था बाहिर ल्याउन नसक्ने भन्दै आकस्मिक अनुगमनलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले औद्योगिक क्षेत्रमा श्रमिकको अवस्था निकै कठिन रहेको उल्लेख गर्दै कतिपय ठाउँमा श्रमिकहरू बँधुवा मजदुरजस्तो अवस्थामा काम गर्न बाध्य रहेको आफूले पाएको बताए ।

सांसद कार्कीले औद्योगिक क्षेत्रभित्र जग्गा व्यवस्थापनमा पनि गम्भीर समस्या रहेको बताए । वास्तविक उद्यमीले जग्गा नपाउने तर बिचौलियाले विभिन्न माध्यमबाट ठाउँ ओगटेर राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

उनले अनुगमनको उद्देश्य केवल कारबाही गर्नु नभई व्यवस्थापन, उद्योगी र श्रमिक तीनै पक्षका समस्या बुझेर समाधान खोज्नु रहेको बताए ।

नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले औद्योगिक क्षेत्रभित्र कार्यरत श्रमिक, विशेषगरी महिला श्रमिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

अनुगमनका क्रममा महिला श्रमिकले मौसमअनुकूल पोशाक नपाएको गुनासो गरेको बताउँदै उनले जाडोमा न्यानो र गर्मीमा सहज हुने पोशाकको व्यवस्था गर्नुपर्ने बताइन् ।

सांसद कामीले औद्योगिक क्षेत्रभित्र खाद्य पदार्थ उत्पादन गर्ने उद्योगसँगै सवारी साधन मर्मत केन्द्र तथा ग्यारेज सञ्चालन भइरहेकोमा आपत्ति जनाइन् । यस्ता गैरऔद्योगिक गतिविधिलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

उनले औद्योगिक क्षेत्रको सरसफाइ र स्वास्थ्य सुरक्षामा समेत सुधार आवश्यक रहेको बताइन् । उद्योग सञ्चालन हुनु मात्र पर्याप्त नभई उत्पादनस्थलको वातावरण र श्रमिकको सुरक्षा पनि महत्वपूर्ण हुने उनले बताइन् ।

नेपाली कांग्रेसका सांसद कालीबहादुर सहकारीले उद्योग र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा नराखेसम्म मुलुक आत्मनिर्भर बन्न नसक्ने बताए ।

उनले उद्योग क्षेत्रका बन्द, कमजोर अवस्थामा रहेका र पुनः सञ्चालन गर्न सकिने उद्योगहरूको अध्ययन गरी सरकारले पुनर्जीवन दिने नीति लिनुपर्ने बताए ।

सांसद सहकारीले बढ्दो सहरीकरणका कारण कृषि योग्य जमिन बाँझो हुँदै गएको र खेतीयोग्य जमिन प्लटिङमा परिणत भइरहेको भन्दै यसलाई रोक्न सरकार र समितिले पहल गर्नुपर्ने बताए ।

उनले उद्योग र कृषिलाई सँगसँगै अघि बढाएर मात्रै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताए ।

सांसदहरूले आगामी दिनमा गरिने अनुगमनलाई सैद्धान्तिक नभई व्यवहारिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । उद्योगीका समस्या पहिचान गरी समाधानका लागि ठोस सुझाव दिने वातावरण बनाउन सके मात्र औद्योगिक क्षेत्रको प्रवद्र्धन हुने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =