ललितपुर महानगरपालिकाद्वारा करमा विशेष सहुलियतको घोषणा

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छुट र सहुलियतको व्यवस्था घोषणा गरेको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले सोमवार आयोजित पत्रकार सम्मेलनमा नवौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै करदातालाई प्रोत्साहन गर्न विभिन्न छुटका योजनाहरू सार्वजनिक गरेका हुन् । महानगरले सार्वजनिक गरेको व्यवस्थाअनुसार आर्थिक वर्ष २०८३/०८४ मा बुझाउनुपर्ने सम्पती कर, भूमि कर र मालपोत आगामी असोज मसान्तभित्र बुझाएमा करदातालाई १० प्रतिशत छुट दिइनेछ ।

त्यस्तै, महानगरमा दर्ता भई नवीकरण हुन बाँकी उद्योग तथा व्यवसायहरूको हकमा पुस मसान्तभित्र सम्पूर्ण वक्यौता रकम चुक्ता गरेमा आर्थिक वर्ष २०७३/७४ सम्मको व्यवसाय कर र बहाल करमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गरिने नीति लिइएको छ । मेयर महर्जनका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८२/०८३ सम्मको व्यवसाय करको जरिवानामा पनि शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । तर तोकिएको समयभित्र वक्यौता रकम चुक्ता नगरेमा यी छुट सुविधाहरू उपलब्ध हुने छैनन् । नियमअनुसार जरिवानासहित कर असुल गरिने महानगरले स्पष्ट पारेको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको असार मसान्तसम्म व्यवसाय नवीकरण गर्ने व्यवसायीहरूलाई २५ प्रतिशत छुट दिइने भएको छ । करदाताले चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको प्रमाण पेश गरेमा सिफारिस दस्तुरमा १५ प्रतिशत छुट पाउने व्यवस्था समेत गरिएको छ । सामाजिक समावेशीकरण र उद्यमी प्रवद्र्धनलाई ध्यानमा राख्दै महानगरले एकल महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरू र महिला समूहद्वारा सञ्चालित व्यवसायको दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न महानगरले विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहिकल) प्रयोगकर्ताका लागि समेत विशेष योजना ल्याएको छ । सम्पत्ति कर बुझाउँदा सम्बन्धित व्यक्ति वा निजको पतिरपत्नीको नाममा रहेको विद्युतीय गाडीको ब्लूबुक पेश गरेमा चालु आर्थिक वर्षको सम्पती करमा थप १ प्रतिशत छुट उपलब्ध गराइने मेयर महर्जनले जानकारी दिए ।

महानगरले चालु आ.व. २०८२–०८३ मा कुल ६८.०० प्रतिशत खर्च भएको जनाएको छ । पुँजीगततर्फ ६०.४५ प्रतिशत, चालु खर्च ८३.२६ प्रतिशत, राजश्व संकलन ७५.३१ प्रतिशत, बेरुजु ०.४४ प्रतिशत (आ.व.२०८१–०८२ को लेखा परीक्षणबाट) वित्तीय जोखिम मूल्यांकन ९९.५ अंक, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९३.५ अंक र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको मूल्यांकन ७६.३२ प्रतिशत रहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =