मर्यादित महिनावारी प्रवर्द्धनका लागि राष्ट्रिय कार्यविधि निर्माण अन्तिम चरणमा

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मर्यादित महिनावारी प्रवर्द्धन, महिनावारीसम्बन्धी विभेद् अन्त्य तथा महिला र किशोरीको सम्मानजनक जीवन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

राष्ट्रिय सभामा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री बादीले महिनावारी महिला तथा किशोरीमा हुने प्राकृतिक तथा जैविक प्रक्रिया भए पनि यससँग जोडिएका अन्धविश्वास, छाउपडी प्रथा, सामाजिक तथा धार्मिक विभेदजस्ता हानिकारक अभ्यासहरू अन्त्य गर्न मन्त्रालयले आवश्यक नीतिगत तथा कार्यक्रमगत पहल अघि बढाइरहेको जानकारी दिइन् ।

उनले मर्यादित महिनावारी भन्नाले महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रियाका रूपमा स्वीकार गर्दै यससँग सम्बन्धित सबै प्रकारका विभेद, हिंसा र अवैज्ञानिक मान्यताको अन्त्य गर्ने अवस्था रहेको स्पष्ट पारिन् । महिला तथा किशोरीमाथि हुने महिनावारीसम्बन्धी विभेद र हिंसा न्यूनीकरणका लागि मन्त्रालयले मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको मन्त्री बादीले जानकारी दिइन् ।

उक्त कार्यविधिमा संघ, प्रदेश र स्थानीय तहमा समन्वय तथा अनुगमन संयन्त्र निर्माण गर्ने, मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी प्रवर्द्धनात्मक, निरोधात्मक, संरक्षणात्मक तथा उपचारात्मक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहमा भएका गतिविधिको तथ्याङ्क संकलन तथा अनुगमन गर्ने र अभियानमुखी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था समेटिएको छ।

मन्त्रालयले तयार गरेको कार्यविधिको मस्यौदामाथि प्रदेशस्तरमा छलफल सम्पन्न भइसकेको र प्राप्त सुझावका आधारमा अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको मन्त्री बादीले राष्ट्रिय सभालाई जानकारी गराइन् ।

सामाजिक कुरीति अन्त्य तथा जनचेतना अभिवृद्धिका लागि मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, राष्ट्रिय सञ्चार माध्यममार्फत नियमित रूपमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।

यसै आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न गरिएको र आगामी दिनमा प्रदेश सरकार, स्थानीय तह तथा यस क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थासँगको सहकार्यमा अभियानलाई थप प्रभावकारी बनाइने मन्त्री बादीले बताइन् ।

राष्ट्रिय सभामा मन्त्री बादीले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा जवाफ दिँदै मर्यादित महिनावारी प्रवर्द्धन तथा सामाजिक विभेद अन्त्यका लागि सरकारले अघि बढाएका नीति, कार्यक्रम र प्रयासबारे जानकारी गराएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =