ऊर्जा मन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका चार्ज द’अफेयर्सबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालस्थित अमेरिकी दूतावासका चार्ज द’अफेयर्स (ए.आई) बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल–अमेरिका ऊर्जा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। छलफलमा स्वच्छ ऊर्जा विकास, जलविद्युत् उत्पादन, विद्युत् प्रसारण पूर्वाधारको विस्तार, ऊर्जा सुरक्षा, निजी तथा वैदेशिक लगानी प्रवर्द्धन, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
दुवै पक्षले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्दै पारस्परिक हित र साझा उद्देश्यका आधारमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटवार्ता नेपाल र अमेरिकाबीच ऊर्जा क्षेत्रमा रहेको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वाससहित सम्पन्न भएको मन्त्रालयले जनाएको छ।








