होल्डिङ सेन्टरका सुकुम्वासीलाई गाँस–बासको व्यवस्था गर्न सरकारलाई रुलिङको माग

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद परशुराम तामाङले होल्डिङ सेन्टरमा रहेको सुकुम्वासी नागरिकहरूलाई तत्काल गाँस, बासको व्यवस्था गर्न सरकारलाई रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् ।

होल्डिङ सेन्टरमा गाँस, बास र कपासको समेत व्यवस्था नभएको पीडा सार्वजनिक भइरहेको बेला उनले बुधवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा यस्तो माग गरेका हुन् ।

होल्डिङ सेन्टरमा रहेको सुकुम्बासीहरुलाई सरकारले उनीहरूले सम्मानपूर्वक जिउन पाउने गरी आधारभूत आवश्यक्ताको तत्काल व्यवस्था गर्नुपर्ने सांसद तामाङले बताए । उनले सुकुम्वासी बस्ती भत्काएर नागरिकलाई पीडा दिने सरकारको नियत देखेर आफूहरूलाई तनाव भएको पनि बताए ।

सांसद तामाङले भने ‘मलाई आज एउटा खबरले बडो टेन्सन गरायो । त्यो के थियो भन्दा यो सुकुम्वासी बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा पुगेको सविना कार्कीले खाना पनि छैन, बस्न पनि छैन, बालबच्चालाई पाल्नका लागि केही पनि छैन । म त एक लिटर पेट्रोल लिएर बसेको छु भन्दाखेरि बडो टेन्सन भयो । हामी यहाँ छौँ, हामी सबैले देखिराखेका छौँ, यस्तो कुरा कति पाच्य हुन सक्छ रु यस विषयमा म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु । र सभामुख महोदयले सरकारलाई गाँसबाँसको र कम्तीमा पनि एउटा सम्मानित जीवन बिताउने वातावरण बनाओस् भनेर रुलिङ गर्नका लागि म आग्रह गर्न चाहन्छु ।’

सांसद तामाङले प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो राष्ट्रघाती अभिव्यक्ति सच्याउनका लागि संसदमा नआउने कुराले पनि विपक्ष दलहरूलाई तनाव दिएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =