सरकारले दृष्टिविहीनलाई तत्काल रोजगारी दिनुपर्छ : हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको ध्यान त्यस दिशातर्फ केन्द्रित गराएका हुन् ।

सडकपेटीमा बसेर गुजारा गर्दै आएका दृष्टिविहीन नागरिकहरूलाई सरकारले धरपक्कड गरेर हटाउन थालेपछि दृष्टिविहीन नागरिकहरूले रोजगारीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नासहितको विरोध प्रदर्शन गरेको दुई हप्ता बढी बितिसक्दा पनि सरकारले त्यतातर्फ ध्यान दिएको छैन ।

अध्यक्ष राईले उनीहरूले गर्नसक्ने काम दिएर उनीहरूको रोजगारी पाउने संवैधानिक हकको सम्बोधन गर्न सरकारलाई सचेत गराए ।

उनले भने ‘यो दृष्टिविहीन व्यक्तिहरूले आन्दोलन गरिरहनु भएको छ । उहाँहरूको माग के हो भन्दाखेरि हामीलाई भत्ता दिनुपर्छ, हामी बसीबसी खान्छौँ भनेको होइन रहेछ । मलाई एउटा ज्ञापन पत्र पनि बुझाउनु भएको थियो । उहाँहरूको माग चाहिँ हामीले सकेको काम जस्तो फोन रिसिभ गर्ने कामदेखि बसेर गर्ने कामहरू हामी गर्न सक्छौँ । सरकारले हामीलाई त्यसतर्फ रोजगारी दिउन् भन्ने खालको उहाँहरूको माग छ । यदि त्यो दिन सकेन भने उहाँहरू सडकपेटीमा गीत गाएर गुजारा गर्दै हुनुहुँदो रहेछ । त्यहाँ गीत गाउनु हुँदैन भन्ने सरकारले महसुस गरेको रहेछ । हुन त अहिलेको सरकारलाई सबै कुरा चिटिक्क परेको होस भन्ने छ । सबैको जीवन चिटिक्क परेको हुँदैन । हामीले आफू जस्तो अरूलाई सम्झनु हुँदैन । कि त उहाँहरूलाई त्यसरी नै सडकमा गीत गाएर गुजारा चलाउने इन्भारोमेन्ट बनाई दिनु पर्याे, त्यो सरकारले पनि चाहँदैन होला, म पनि चाहन्न । उहाँलाई दिनुपर्ने रोजगारीको प्रबन्ध सरकारले मिलाओस् । एकैचोटी दिन नसकिएला तर सुरु गरियोस् । यो महिनाबाट १०, १५ जनालाई दिन थाले पनि हुन्छ ।’

त्यस अवसरमा अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्ति सच्याउनका लागि रुलिङ गर्न पनि सभामुख डोलप्रसाद अर्याललाई दबाब दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =