मुम्बईमा भारी वर्षाबीच भवन भत्किँदा बालबालिकासहित छ जनाको मृत्यु

काठमाडौं । भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण आवासीय भवन भत्किँदा पाँच बालबालिकासहित छ जनाको मृत्यु भएको छ । लगातारको वर्षाले सडक जलमग्न बनेपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले सोमबार जनाएका छन् ।

मुम्बईकी मेयर ऋतु तावडेका अनुसार आइतबार सहरको पूर्वी भागमा रहेको उक्त भवन भत्किँदा त्यहाँका बासिन्दा भग्नावशेषमा पुरिएका थिए । उद्धार टोलीले घटनास्थलबाट शवहरू निकालेको बताइएको छ ।

भारत मौसम विज्ञान विभागले २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरेको जनाउँदै मुम्बईका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । निरन्तर वर्षा र तीव्र हावाको सम्भावनासँगै विद्यालय तथा कलेजहरू बन्द गरिएको छ । अधिकारीहरूले वर्षाका कारण रूख तथा संरचना ढल्ने जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक नभएसम्म घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

मुम्बईमा हप्ता दिनदेखिको प्रचण्ड गर्मीपछि मुसलधारे वर्षा परेको हो । यसअघि गत महिना अधिकारीहरूले पानीको अभावका कारण पानीको प्रयोगमा प्रतिबन्ध लगाएका थिए भने स्विमिङ पुल र निर्माण स्थलहरूमा पानी आपूर्ति कटौती गरिएको थियो ।

दुई करोडभन्दा बढी जनसङ्ख्या रहेको यो सहरमा डेटा–सेन्टर पूर्वाधार विस्तारसँगै पानीका स्रोतहरूमा थप दबाब पर्ने चिन्ता व्यक्त गरिएको छ । ती केन्द्रहरूलाई शीतलनका लागि ठूलो मात्रामा पानी आवश्यक पर्ने भएकाले आपूर्ति व्यवस्थामा थप तनाव सिर्जना हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =