एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअघि नेपाली खेलकुदमा निजी क्षेत्रको ठूलो लगानी भित्रिएको छ ।
एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एनपीएलका आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरको सम्झौता गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग तीन वर्षका लागि टाइटल स्पोन्सरको औपचारिक सम्झौता गरेको हो ।
सम्झौतापत्रमा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया राणा तथा सम्बन्धित टोलीका प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार आगामी तीन वर्षसम्म एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीहरूको प्रमुख प्रायोजक रहनेछ । टोलीका खेलाडीले लगाउने जर्सीको अगाडिको प्रमुख स्थानमा कम्पनीको लोगो रहनेछ। कम्पनीले यो सहकार्यले एनपीएलमार्फत आफ्नो ब्रान्डलाई थप सशक्त रूपमा स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता एनपीएलका ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताए ।
उनका अनुसार यो साझेदारी केवल ब्रान्ड प्रवद्र्धनका लागि नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्याउने उद्देश्यले गरिएको हो ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले पछिल्ला वर्षहरूमा नेपाली खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ। कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजकसमेत हो। साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथनलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सक्रिय रूपमा सहकार्य गर्दै आएको छ ।
दसैंपछि आयोजना हुने एनपीएलको तेस्रो संस्करणअघि भएको यो सम्झौतालाई नेपाली खेलकुदमा निजी क्षेत्रबाट भएको सम्भवतः सबैभन्दा ठूलो फ्रेन्चाइज प्रायोजनमध्ये एक मानिएको छ ।
यसले नेपाली क्रिकेटमा व्यावसायिक लगानी बढ्नुका साथै आगामी दिनमा खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेल संस्कृतिको विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।








