सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न

 

जनकपुर। सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा स्थानीय सरकार र नीति निर्माण तहबिचको साझेदारीलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ।

प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) मधेस प्रदेशद्वारा आयोजित सम्मेलनमा ‘सार्वजनिक शिक्षा रूपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी’ विषयमा छलफल गरिएको थियो। सम्मेलनमा मधेस प्रदेशका विभिन्न जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले विद्यार्थीको सिकाइ स्तर कमजोर रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले विद्यार्थीको सिकाइ स्तरका साथै सीप विकासका लागि मानसिक र शारीरिक रूपमा मजबुत बनाउने दिशामा शिक्षक, अभिभावक, प्रधानाध्यापक तथा स्थानीय तह मिलेर काम गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, प्रिन्सिपल एसोसिएसन अफ नेपालका अध्यक्ष सुदानप्रसाद गौतमले नेपालमा शिक्षा राज्यको प्राथमिकतामा नरहेको गुनासो गरे। उनले नेपालमा सरकारलाई शिक्षा नियमावली बनाउन तथा विद्यालयलाई पर्याप्त बजेट उपलब्ध गराउन दबाब दिनुपर्ने अवस्था रहेको बताए। साथै, राज्य शिक्षा, स्वास्थ्य तथा पूर्वाधारजस्ता आधारभूत आवश्यकताको पूर्ति गर्न जिम्मेवार हुनुपर्नेमा जोड दिए।

एसोसिएसनका मधेस अध्यक्ष सञ्जय झाको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक शिक्षाको गुणस्तर सुधार, विद्यालय नेतृत्वलाई थप प्रभावकारी बनाउने उपाय, स्थानीय सरकारसँगको सहकार्य, शिक्षा नीति कार्यान्वयनका चुनौती तथा समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =