इजिप्टका राष्ट्रपतिद्वारा नयाँ सैन्य मुख्यालयको उद्घाटन

काठमाडौँ। इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले राजधानी कायरोको पूर्वमा अवस्थित नयाँ प्रशासनिक राजधानीमा ‘अक्टागन’ भनिने राज्य रणनीतिक कमान्ड मुख्यालयको उद्घाटन गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सो मुख्यालयले देशको सैन्य तथा रणनीतिक सञ्चालन प्रणालीमा नयाँ आयाम थप्नेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सिसीले नयाँ कमान्ड मुख्यालयलाई एक गौरवशाली राष्ट्रिय संरचनाका रूपमा वर्णन गरे। उनले यो परिसर इजिप्टको कमान्ड, नियन्त्रण र अपरेसन व्यवस्थापन प्रणालीमा महत्त्वपूर्ण फड्को भएको बताए।

अत्याधुनिक प्राविधिक पूर्वाधार, सुरक्षित सञ्चार प्रणाली तथा सूचना सङ्कलन एवं विश्लेषणका उन्नत क्षमताले सुसज्जित यो मुख्यालय सैन्य मामिला व्यवस्थापनका लागि मात्र नभई राज्यका चुनौती र असाधारण परिस्थितिको सामना गर्न सक्षम आधार स्तम्भका रूपमा डिजाइन गरिएको उनले उल्लेख गरे।

मिश्रको सरकारी समाचार एजेन्सी मेनाका अनुसार राष्ट्रपति सिसीले आधिकारिक उद्घाटन बडापत्रमा हस्ताक्षर गर्नुका साथै सो परिसरमा सशस्त्र बलको झन्डा पनि फहराए।

अक्टागन मध्यपूर्व क्षेत्रकै सबैभन्दा ठुलो कमान्ड सेन्टर हो। यसले उन्नत सञ्चार प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत राज्यका सार्वभौम निकायहरूलाई आपसमा जोड्ने तथा एकीकृत सङ्कट व्यवस्थापन केन्द्रका रूपमा काम गर्ने समाचारमा जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =