ट्रम्पद्वारा अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख

एजेन्सी । अमेरिकाको २५० औँ स्वतन्त्रता दिवसको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकालाई ‘मानव इतिहासको सर्वोच्च उपलब्धि’ भनेका छन् ।

यस अवसरमा उनले आफ्ना घरेलु विरोधीहरूलाई ‘कम्युनिस्ट’ भनेर विपक्षीमाथिको आफ्नो यसपहिलेको आक्रमणलाई निरन्तरता दिए ।

वाशिङ्गटनमा आँधीका कारण भीडलाई केही समयका लागि खाली गर्नुपरेकोले केही घण्टा ढिलो भएको सम्बोधनमा ट्रम्पले भने ‘मेरो राष्ट्रपतिकालमा संयुक्त राज्य अमेरिका ‘पहिलेभन्दा अझै बढी गर्विलो’ बनेको छ ।’

राष्ट्रपति ट्रम्पले राष्ट्रिय उत्सवमा आफ्नो छाप छोड्न ठूलो राजनीतिक र्‍यालीको वाचा गरेका थिए तर ८० वर्षीय रिपब्लिकनले मुख्य रूपमा आफ्नो सम्बोधनलाई परम्परागत देशभक्तिपूर्ण भाषणमै सीमित गरेका थिए ।

‘अढाई शताब्दीदेखि हाम्रो अमेरिकी गणतन्त्र मानव इतिहासको सर्वोच्च उपलब्धिको रूपमा खडा छ,’ राष्ट्रपति ट्रम्पले ‘नेशनल मल’मा जम्मा भएका हजारौँ समर्थक तथा शुभेच्छुकको भीडमा भने ।

मञ्चमा उनले दोस्रो विश्वयुद्ध, कोरियाली युद्ध र भियतनाम युद्धका राजनीतिक तथा सैनिक नेतृत्व र अन्य योगदानकर्ताहरूको भूमिकाको उच्च प्रशंसा गर्दै उनीहरूप्रति सम्मानभाव प्रकट गरे ।

त्यसैगरी उनले पछिल्ला दुई युद्धलाई ‘कम्युनिस्ट’ विरुद्धको लडाईको उदाहरणको रूपमा प्रस्तुत गरे । उनले यो भनाइ उनले शुक्रबार राति माउन्ट रशमोरमा दिएको भाषणको सन्देशसँग मिल्दोजुल्दो थियो ।

‘हाम्रा योद्धाहरूले विश्वका विभिन्न युद्धभूमिमा ‘कम्युनिजम’विरुद्ध लडे, तर अब त्यही खतरा अमेरिकामै फर्केर टाउको उठाउँदै छ। हामी यसो हुन दिनेछैनौँ,’ उनले भने ।

—अमेरिकी हुनुमा गर्व—

ट्रम्पले पछिल्ला दिनमा अमेरिकामा केही समूह समाजवादी व्यवस्थाको पक्षधरताका लागि काम गरिरहेको भन्ने बिषयलाई शनिबार पनि दोहोर्याएका थिए ।
नोभेम्बरको ‘मिडटर्म’ निर्वाचनअघि डेमोक्रेटिक पार्टीको वामपन्थी पक्षले प्राइमरीमा धेरै जित हासिल गरेपछि उनले यो अभियान चलाइरहेका छन् ।

‘यो क्यान्सर जस्तै हो, यसलाई काटेर फाल्नुपर्छ,’ उनले थपे ।

राष्ट्रपति ट्रम्पले इरान र भेनेजुएलाविरुद्ध हालैका सैन्य अभियानको पनि बढाई चढाई गर्दै ए र वाशिंगटनले तेहरानको सेनालाई ‘समाप्त’ गरेको दाबी गरे ।

तर ट्रम्पको मापदण्डअनुसार यो भाषण छोटो थियो, यो करिब ४५ मिनेट मात्रको थियो ।

‘हामी ट्रम्पलाई माया गर्छौँ, उहाँको भनाइ पनि मन पर्यो,’ भर्जिनियाबाट श्रीमती न्यान्सीसँग कार्यक्रममा आएका ७० वर्षीय रिचर्ड सुलिभानले भने । उनले ‘फ्रिडम २५०’ टि–शर्ट लगाएका थिए ।

सुलिभानले भने ‘उहाँले हाम्रो महान् इतिहासको बारेमा बताउनुभयो । अमेरिकाको इतिहास रच्न योगदान पुर्याएका सवैको सम्झना गर्नुभयो । उहाँले हामीलाई अमेरिकी हुनुमा गर्व महसुस गराउनुभयो ।’

भाषणपछि ठूलो आतिशबाजी प्रदर्शन सुरु भयो । राष्ट्रपति ट्रम्पले यसलाई विश्वकै सबैभन्दा ठूलो आतिशबाजी हुने बताएका थिए ।

अमेरिकाले सन् १७७६ मा बेलायतबाट स्वतन्त्रता घोषणापत्रमा हस्ताक्षर भएको दिनको सम्झनामा देशको पूर्वी भागका शहरहरूमा तातो लहरको सामना गर्दै शनिबार उत्सव मनाएका थिए ।

राजधानीमा जुलाई ४ को लागि अहिलेसम्मकै उच्च रेकर्डको तापक्रम १०३ फरेनहाइट (३९.४ डिग्री सेल्सियस) सम्म पुगेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार शनिबारका लागि १६ करोड अमेरिकीलाई कडा गर्मीको चेतावनी जारी गरिएको थियो ।

मौसमका कारण न्यूयोर्कको आतिशबाजी कार्यक्रम अगाडि सारियो भने फिलाडेल्फियाको कन्सर्ट र बोस्टनको चाल्र्स नदी उत्सवमा मानिसहरूलाई खाली गर्नुपरेको थियो ।

—अद्भुत देश—

मौसमले ट्रम्पको भाषणलाई पनि प्रभावित पार्ने खतरा थियो । आँधी आउन लागेपछि हजारौं मानिसहरूलाई भाषण सुरु हुनुभन्दा केही घण्टाअघि नै नेशनल मलबाट बाहिरिन भनिएको थियो ।

धेरैजना बाहिर निस्किए पनि केहीले कार्यक्रमस्थल छोड्न मानेनन् वा पुनः कार्यक्रमस्थलमा प्रवेश गरेका थिए । उनीहरूले राष्ट्रपतिको समर्थनमा नारासमेत लगाएका थिए । त्यसपछि ट्रम्पले भाषणलाई अगाडि बढाउने अडान लिए । फक्स न्यूजसँग उनले भने ‘दोस्रो विश्वयुद्धका ‘डी–डे भेटेरान’हरूले खराब मौसमको सामना गर्न सके भने म पनि सक्छु ।’

‘यो अद्भुत देशलाई स्वतन्त्रता दिलाउन धेरैले ठूलो त्याग गरेका छन्। अलिकति गर्मी सहनु त्यसको तुलनामा केही पनि होइन,’ वाशिङ्गटनको उत्सवमा आएका ६२ वर्षीय अवकाशप्राप्त कर्मचारी र्यान्डी कोलले भने ।

स्वतन्त्रताको २५० औँ वर्षको उत्सवमा राष्ट्रपति ट्रम्पले आफूलाई र आफ्नो राजनीतिक ‘ब्रान्ड’लाई केन्द्रमा राख्ने अडानले उहाँको दोस्रो कार्यकालले ल्याएको गहिरो विभाजनलाई उजागर गरेको छ ।

शनिबार वाशिङ्गटनको क्यापिटल हिल नजिकै यो विभाजन स्पष्ट देखियो, जहाँ मास्क लगाएका केही मानिसहरूले एकताको झण्डा बोकेका थिए भने केहीले श्वेत श्रेष्ठतावादी ‘राष्ट्रवादी समूह’ को लोगो लगाएका थिए । उनीहरूले ‘अमेरिकालाई पहिलेको गौरवको अवस्थामा फर्काऔँ’ भन्दै नारा लगाइरहेका थिए ।

यो २५० औं वर्षको अवसर अमेरिकाका लागि उत्सवसँगै चिन्तनको पनि क्षण हो ।

क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणअनुसार ६१ प्रतिशत अमेरिकीहरूले संयुक्त राज्य अमेरिका स्वतन्त्रता घोषणापत्रका आदर्शहरूअनुसार चलेको छैन भन्ने सोच्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =