लागुऔषध कारोगारका स्कारपिओ प्रयोग, चार जना पक्राउ

महेन्द्रनगर । प्रहरीले लागुऔषध कारोगारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो र कञ्चनपुरको वाणीमा रहेको प्रहरी विटबाट खटिएको संयुक्त टोलीले चार जना युवालाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले स्कारपिओ गाडीमा ३०.९३ ग्राम खैरोहिरोइनसहित चार जनालाई कष्णपुर नगरपालिका–२ नयाँबस्ती क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का लालबहादुर सुनार, हेमराज जोशी, बेदकोट नगरपालिका–७ का विमल पाण्डे र धनगढी उपमहानगरपालिका–५ तारानगरका अशोक पाण्डे रहेका छन् ।
“लागुऔषधको अवैध कारोगार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।” प्रवक्ता रावतले भने “अभियुक्तको साथबाट पाँच थान मोबाइलसमेत बरामद भएको छ ।” चार जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।








