राष्ट्रियसभामा विनियोजन विधेयकमा मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ मा विभिन्न मन्त्रालयका शीर्षकमाथि समूहीकृत छलफल जारी छ । सदस्यहरूले कृषि र सिँचाइ क्षेत्रलाई आवश्यकताअनुसार बजेट विनियोजन हुन नसकेको बताएका छन् ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीषकमाथि समूहीकृत रूपमा छलफलमा भाग लिँदै सदस्य सोमनाथ बर्तौलाले ६२ दशमलव ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको भन्दै ‘बाँकी क्षेत्रमा कहिले सिँचाइ सुविधा पुग्छ ?’ भनी प्रश्न गरे ।

भूमिगत सिँचाइका लागि छुट्याइएको बजेट प्रदेशमा पठाउनुपर्ने माग गर्दै सदस्य बर्तौलाले आफूले खर्च कटौतीको प्रस्ताव राखेको बताए । गत फागुनसम्म ९९ दशमलव एक प्रतिशतमा विद्युत् सेवा पुगेको जनाउँदै उनले शीघ्र शतप्रतिशत विद्युत् विस्तार गर्नुपर्ने माग गरे ।

यसैबीच, सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा ऊर्जा, जलस्रोत, सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अनुमति लिएर नै आजको बैठकमा उपस्थित हुन नसक्नुभएको जानकारी गराउनुभएको बताए ।

सदस्य दुर्गाकुमारी गुरुङले ऊर्जा क्षेत्रमा गरिने खर्चलाई भविष्यको लगानीका रूपमा लिनुपर्ने बताइन् । उनले किसानलाई वर्षभरि सिँचाइ सुविधा दिने ठोस् कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

सदस्य उर्मिला अर्यालले चिया उत्पादनसम्बन्धी आवश्यक अध्ययन÷अनुसन्धान गर्नुपर्ने बताइन् । उनले नेपाली चियालाई विदेशमा निर्यात गर्ने सन्दर्भमा आवश्यक पहलका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सदस्य प्रेमप्रसाद दङ्गालले धेरै जिल्लामा बाँदर आतङ्कले समस्या सिर्जना गरेकाले हालसम्म समाधान नभएको भन्दै सोही कारणले किसान बसाइँ सर्ने अवस्थामा पुगेकाले बजेटले उक्त समस्या समाधानका लागि सम्बोधन नगरेको बताए ।

सदस्य विष्णुकुमारी सापकोटाले बजेटले कृषि मन्त्रालयलाई आवश्यकताअनुसार प्राथमिकता नदिएको बताइन् । चालु आवको तुलनामा कृषि मन्त्रालयलाई एक तिहाइ बजेट कम गरिएको बताउँदै कफी खेतीलाई विस्तार गरी गाँजाखेतीलाई खुला गरिनुपर्नेमा उनले जोड दिइन् ।

बैठकमा सदस्यद्वय तुलप्रसाद विश्वकर्मा र मीनासिंह रखालले कृषि क्षेत्रलाई सरकारले आवश्यकताअनुसार प्राथमिकता दिएर बजेट विनियोजन गर्न नसकेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =