बागलुङका ७७ वटा खानेपानी महानमा ‘कोलिफर्म’ फेला

ढोरपाटन । बागलुङका खानेपानी मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको ‘कोलिफर्म’ भेटिएको छ । जिल्लाको विभिन्न स्थानका ३६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ मा ‘कोलिफर्म’ भेटिएको हो ।

धवलागिरि प्रादेशिक अस्पतालमा जन्डिसका बिरामी बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा पुगेर मुहानको पानी परीक्षण गरेको थियो । जिल्ला सदरमुकामसँगै जोडिएका गाउँका स्थानीयले उपभोग गर्ने पानीमा ‘कोलिफर्म’ भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रयोगशाला प्रमुख डिल्ली आचार्यले जानकारी दिए । उनका अनुसार यो दिसामा देखिने जीवाणु भएकाले यो मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

आचार्यले भने “अस्पतालमा दूषित पानीको प्रयोगबाट हुने बिरामीको सङ्ख्या बढेपछि करिब चार सय मुहानको पानी परीक्षण गर्दा केही मुहानमा कोलिमर्फ भेटियो । यस्तो पानी उपभोग गर्दा बिरामी पर्ने र ज्यानै जान सक्ने जोखिम रहन्छ । त्यसैले खानेपानी उपभोक्ता संस्था, वडा र स्थानीयलाई पानीको शुद्धीकरण गरेरमात्रै प्रयोग गर्न आग्रह गरेका छौँ ।”

गत आथिक वर्ष पनि ३४१ स्थानमा पानी परीक्षण गरिएकामा १२५ स्थानमा कोलिफर्म देखिएको प्रयोगशाला प्रमुख आचार्यले जानकारी दिए । उनका अनुसार आव २०८०÷८१ मा भने २०८ स्थानको पानी परीक्षण गर्दा ७३ स्थानमा कोलिफर्म देखिएको थियो ।

कोलिफर्मयुक्त पानीका कारण ज्वरो, टाइफाइट, झाडापखला, मलेरिया, जन्डिसलगायत रोग लाग्ने धवलागिरि प्रादेशिक अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीले बताए । बर्खाको समयमा पानी दूषित हुने हुँदा धेरै बिरामी बढ्ने उनको भनाइ छ । यो याममा पानी शुद्धीकरण गरेर र उमालेर मात्रै पिउनुपर्ने उनको सुझाव छ ।

“यो याम दूषित पानीका कारण धेरै मानिस बिरामी पर्नु हुन्छ, किनकि यो वर्षासँगै फोहरजन्य पानी मुदानमा सिसिने जोखिम रहन्छ । खोलानाला बढ्ने, भल आउने समस्याका कारण पानीको मुहान दूषित हुन्छ”, डा तिवारीले भने “सोही कारणले पानी सफा देखेर सिधैँ पिउनुभन्दा उमालेर पिउन उत्तम हुन्छ ।”

डा तिवारीका अनुसार धवलागिरि अस्पतालमा दैनिक ६०० को हाराहारीमा बिरामी आउने गरेको छन् । “तीमध्ये अधिकांश दूषित पानीका कारण बिरामी हुनुभएको परीक्षणका क्रममा देखिएको छ”, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =