चितवनको चेपाङ बस्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सयौं स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ ।

केएमसी दुवाकोटको प्राविधिक सहयोग, नीलगिरि बचत तथा ऋण सहकारी संस्था र आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा तथा खैरहनी नगरपालिकाको समन्वयमा खैरहनी नगरपालिका–६ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १ हजार १ सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।

यसैगरी, केएमसीले कालिका नगरपालिका–१० स्थित चेपाङ बस्तीको निबुवाटार आधारभूत विद्यालयमा पनि छुट्टै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विद्यालयमै विशेषज्ञ चिकित्सकसहितको टोली पुगेपछि स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएका थिए । सो अवसरमा चेपाङ समुदायका बिरामीलाई केएमसी दुवाकोटमा उपलब्ध उपचार सेवा निःशुल्क रूपमा प्रदान गरिने जानकारीसमेत दिइएको थियो ।

दुवै शिविरमा बालरोग, हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, छाला तथा यौनरोग, आँखा, दन्त, नाक–कान–घाँटी, मुटुरोग, स्त्रीरोग तथा मनोरोगसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको थियो । साथै रगत तथा पिसाब परीक्षणको सुविधा पनि प्रदान गरिएको थियो ।

स्वास्थ्य संस्थासम्म पहुँच कठिन भएका र आर्थिक रूपमा कमजोर समुदायका स्थानीयले आफ्नै बस्तीमा विशेषज्ञ सेवा पाउँदा राहत महसुस गरेका छन् । शिविरमा रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य परामर्श तथा आवश्यक परे थप उपचारका लागि सिफारिससमेत गरिएको आयोजकले जनाएको छ ।

शिविरबाट प्रत्यक्ष रूपमा सयौं स्थानीय लाभान्वित भएका छन् भने स्वास्थ्य सचेतना अभिवृद्धिमा पनि महत्वपूर्ण योगदान पुगेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =