वीरगन्जमा शिशु स्याहार केन्द्र सञ्चालन, कामकाजी महिलालाई राहत पुग्ने अपेक्षा

काठमाडौँ। कामकाजी महिलालाई बालबालिकाको सुरक्षित हेरचाहको सुविधा उपलब्ध गराउँदै उनीहरूको आर्थिक गतिविधिमा सहभागिता बढाउने उद्देश्यले वीरगन्ज महानगरपालिका–८ मा स्थापना गरिएको बाल उद्यान तथा शिशु स्याहार केन्द्र शुक्रवार वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ), नेपाल उद्योग वाणिज्य महासङ्घ, वीरगन्ज महानगरपालिका–८, महासङ्घको मधेस प्रदेश समिति तथा वीरगन्ज उद्योग वाणिज्य सङ्घलगायतको संयुक्त सहकार्यमा स्थापना गरिएको केन्द्रबाट औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिला, दैनिक ज्यालादारी गर्ने श्रमिक तथा स्वरोजगार महिलाहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले बालबालिकाको सुरक्षित हेरचाहको व्यवस्था भएपछि महिलाहरू उद्योग, व्यापार, रोजगारी तथा उद्यमशीलतामा अझ सक्रिय रूपमा सहभागी हुन सक्ने बताए। उनका अनुसार शिशु स्याहार केन्द्र महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीमा सहभागिता अभिवृद्धि गर्ने महत्त्वपूर्ण आधार बन्नेछ।
उनले महिलाको श्रम सहभागिता बढ्दा उत्पादनशीलता र पारिवारिक आम्दानीसमेत बढ्ने उल्लेख गर्दै यस्ता केन्द्रहरूले आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले स्थानीय सरकार र निजी क्षेत्रबिचको सहकार्यबाट महिला तथा बालबालिकामैत्री कार्यक्रम सुरु हुनु सकारात्मक भएको बताए। जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले कामकाजी अभिभावकका लागि यस्ता शिशु स्याहार केन्द्र समयको आवश्यकता भएको धारणा राखे।
आईएलओ मधेस प्रदेशका संयोजक महेन्द्र सहनीले घरायसी तथा सामाजिक जिम्मेवारीका कारण करिब ४० प्रतिशत महिलाहरू श्रम बजारमा सहभागी हुन नसकेको तथ्याङ्क प्रस्तुत गर्दै स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यबाट सुरु गरिएको यो पहलले महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका सहायक निर्देशक हरि पौडेलका अनुसार वीरगन्ज औद्योगिक गतिविधिको प्रमुख केन्द्र भएकाले यहाँ कार्यरत महिलाको आवश्यकतालाई मध्यनजर गर्दै वडा नं. ८ मा शिशु स्याहार केन्द्र स्थापना गरिएको हो।








