अल्जेरियामा नयाँ संसद चयनका लागि मतदान सम्पन्न

एजेन्सी । अल्जेरियामा सन् १९८९ पछिको आठौँ बहुदलीय संसदीय निर्वाचनका लागि बिहीवार मतदान सम्पन्न भएको छ । राष्ट्रपति अब्देलमजिद तेब्बौनेको कार्यकालमा भएको यो दोस्रो संसदीय निर्वाचन हो ।

नयाँ तल्लो सदन ‘नेशनल पिपुल्स एसेम्ब्ली’ का ४०७ सदस्य चयन गर्न २ करोड ४७ लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेका थिए । खुला–सूची समानुपातिक निर्वाचन प्रणाली अपनाइएको यस मतदानका लागि स्थानीय समय अनुसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय निर्धारण गरिएको थियो ।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन देशभर हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने दुर्गम क्षेत्रहरूमा सेनाले सुरक्षा सहयोग उपलब्ध गराएको थियो ।

यस पटकको निर्वाचनमा ३२ राजनीतिक दलका ६१३ दलीय सूची र १२५ स्वतन्त्र सूची गरी कुल ७९३ चुनावी सूचीहरू प्रतिष्पर्धामा छन् । चुनावी मैदानमा रहेका कुल ९ हजार ८५४ उम्मेदवारहरूमध्ये २१ प्रतिशत महिला र ५४ प्रतिशत ४० वर्षभन्दा कम उमेरका युवा रहेका छन् ।

सन् २०२१ मा भएको अघिल्लो निर्वाचनमा सत्तारुढ ‘नेशनल लिबरेसन फ्रन्ट’ (एफएलएन) ले ९८ सिट, स्वतन्त्र उम्मेदवारहरूले ८४ सिट र ‘मुभमेन्ट अफ सोसाइटी फर पिस’ ले ६५ सिट जितेका थिए । सो निर्वाचनमा मतदाताको उपस्थिति करिव २३ प्रतिशत मात्र रहेको थियो । विश्लेषकहरूले यस पटक पनि एफएलएन र स्वतन्त्र उम्मेदवारहरूकै वर्चस्व रहने अनुमान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र निर्वाचन प्राधिकरणका कार्यवाहक अध्यक्ष करिम खेल्फानेका अनुसार विदेशमा रहेका अल्जेरियाली नागरिकहरूका लागि जुन २७ देखि ३० सम्म १२९ वटा कुटनीतिक नियोगहरूमा मतदानको व्यवस्था गरिएको थियो । साथै, दक्षिणी प्रान्तका दुर्गम मरुभूमि क्षेत्रहरूमा रहेका करिव ३१ हजार मतदाताका लागि १३४ वटा मोबाइल मतदान केन्द्र परिचालन गरिएको थियो ।

प्राधिकरणले मतदान केन्द्रहरूको अन्तिम प्रतिवेदन प्राप्त भएको ७२ घण्टाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने जनाएको छ । अन्तिम चुनावी नतिजा भने संवैधानिक अदालतले घोषणा गर्नेछ । यो निर्वाचन अल्जेरियाको स्वतन्त्रता दिवस (जुलाई ५) को पूर्वसन्ध्यामा आयोजना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =