फिफा विश्वकप २०२६: इबेरियन डर्बी पक्का, रोनाल्डो र यमालबीच रोचक भिडन्त हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा ‘इबेरियन प्रायद्वीप’ का दुई देशहरू भिड्ने पक्का भएको छ। युरोपेली फुटबलका दुईशक्ति पोर्चुगल र स्पेनबीच अन्तिम १६ अर्थात प्रि-क्वाटरफाइनलमा भिडन्त हुने भएको हो।

अनुभवी सुपरस्टार क्रिस्टियानो रोनाल्डो र विश्व फुटबलका उदाउँदा प्रतिभा लामिन यमाल आमनेसामने हुने भएपछि यो खेल विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एक बन्ने अपेक्षा गरिएको छ। शुक्रबार बिहान ४:४५ बजे भएको दोस्रो खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पुनरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।

त्यसअघि शुक्रबारै बिहान ००:४५ मा भएको पहिलो खेलमा स्पेनले अस्ट्रियामाथि ३–० को प्रभावशाली जित दर्ता गर्दै सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा विजय हासिल गरेको थियो।

यस विश्वकपअघि धेरै समर्थकले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीचको सम्भावित ‘ड्रिम म्याच’ को प्रतीक्षा गरेका थिए। तर, समूह चरणमा पोर्चुगल उपविजेता बनेपछि अर्जेन्टिना र पोर्चुगल फरक ब्रयाकेटमा परे।

अब यी दुई टोली फाइनलसम्म पुगेमा मात्र मेसी र रोनाल्डोको ऐतिहासिक भेट सम्भव हुनेछ। तर त्यसअघि नै फुटबलप्रेमीले एउटा अर्को विशेष दृश्य हेर्न पाउनेछन्। ४१ वर्षीय रोनाल्डो र १८ वर्षीय स्पेनिस स्टार लामिन यमाल पहिलो पटक विश्वकपमा एकअर्काविरुद्ध मैदान उत्रिनेछन्।

रोनाल्डोले सन् २००६ मा विश्वकप डेब्यु गर्दा यमालको जन्मसमेत भएको थिएन। अहिले भने त्यही यमाल विश्व फुटबलका महान् खेलाडीमध्ये एक रोनाल्डोसँग विश्वकपको नकआउट चरणमा प्रतिस्पर्धा गर्न तयार छन्।

यमालले यसै विश्वकपबाट डेब्यु गर्दै साउदी अरेबियाविरुद्ध आफ्नो पहिलो विश्वकप गोल पनि गरेका छन्। एकातिर दुई दशकभन्दा लामो अनुभव बोकेका रोनाल्डो छन् भने अर्कोतिर नयाँ पुस्ताका चम्कँदा तारा यमाल ।

त्यसैले पोर्चुगल–स्पेनको यो भिडन्त केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र नभई विश्व फुटबलका दुई पुस्ताबीचको प्रतीकात्मक संघर्षका रूपमा पनि हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =