जेनजी आन्दोलनपछि संविधान ‘कोमा’मा छ, डेमोक्रेसी समाप्त भइसक्यो: देव गुरुङ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवराज गुरुङले गत भदौको जेन–जी आन्दोलनपछि नेपालको संविधान ‘कोमा’ पुगेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो यस्तो टिप्पणी गरेका हुन् ।
उनले संविधान नाममा मात्रै सीमित भएको तथा बहुदलीय लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयन शुन्यप्राय अवस्थामा रहेको टिप्पणी गरे । उनले विश्वमा बढ्दो युद्ध र साम्राज्यवादी हस्तक्षेपविरुद्ध उत्पीडित राष्ट्रहरूबीच बृहत्तर सहकार्य आवश्यक रहेको पनि बताए । उनले नेपालसहित एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका मुलुकहरू साम्राज्यवादबाट प्रभावित रहेको दाबी गर्दै शान्ति, स्थिरता र दिगो विकासका लागि आपसी समझदारी र सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
उनले विश्वका स्वतन्त्र राष्ट्रहरूले आ–आफ्नो संविधान, कानुन, अर्थतन्त्र र मूल्य–मान्यताअनुसार शान्ति र समृद्धिको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने ‘हामी उत्पीडित राष्ट्रको रूपमा साम्राज्यवादबाट प्रताडित भइरहेका मुलुकको रूपमा रहेको अवस्थामा नेपाल लगायतका एसियाली मुलुकहरू, ल्याटिन अमेरिकी मुलुकहरू, अफ्रिकी मुलुकहरू, सबै साम्राज्यवादबाट प्रताडित भइरहेका मुलुकहरूको बीचमा बृहत्तर रूपमा सहमति, सहकार्य, समझदारीको विकास गर्न जरुरी छ । शान्तिको लागि, स्थिरताको लागि, स्थायित्वको लागि, निरन्तरताको लागि, त्यो ढंगले अगाडि बढ्न जरुरी छ । संयुक्त राष्ट्र संघमा झन्डै १८३ मुलुकहरू छन् । आफ्नो आफ्नो अर्थतन्त्र छ, आफ्ना आफ्ना संविधान छन् । कानुन, सभ्यता र मूल्य मान्यता समेत आ–आफ्नै छन् । विश्व समान ढंगले स्वतन्त्रताको रूपमा विकास गरेर शान्ति र समृद्धिको रूपमा विकासको रूपमा अगाडि बढ्नु पर्नेमा जुन प्रकारको युद्ध आतंक चाहिँ सिर्जना भएको छ, यसले यस आतंकले नेपालको राष्ट्रिय अस्मिता पनि के हुन्छ ? भन्ने खालको अवस्था पैदा भएको छ । नेपालको संविधान, नेपालको डेमोक्रेसी त एक प्रकारले सिध्याइसकेको छ । जेन्जी आन्दोलनदेखि संविधानलाई कोमामा पुर्याइसकेको छ । अहिले संविधान नाम मात्रको छ, कुनै पनि कार्यान्वयन भएको छैन । मल्टिपार्टी डेमोक्रेसी कुनै पनि कार्यान्वयन भएको छैन, नाम मात्रको रूपमा सीमित छ । एक प्रकारले डेमोक्रेसी समाप्त भइसकेको अवस्था छ ।’
उनले संविधान र व्यवस्थाको रक्षाका लागि सबै गम्भीर हुन जरुरी रहेको बताए ।








