जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाएकै रहेछन्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको दाबी गरेका छन् ।
पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर देशलाई अर्को दुर्घटनाबाट जोगाउने विषयमा आफूहरू चिन्तित रहेको बताए ।
उनका अनुसार त्यतिबेला देश नयाँ मोडतर्फ जान लागेको भन्ने चर्चा समाजमा व्यापक रूपमा भइरहेको थियो । ‘नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अर्कै युगमा जाँदैछ भन्ने चर्चा–परिचर्चा हुँदै थियो,’ उनले भने, ‘पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन् ।’
प्रचण्डले त्यतिबेला जनता, नेता र कार्यकर्ताबीचको सम्बन्ध कमजोर बनेको र मुलुक असाधारण परिस्थितिबाट गुज्रिरहेको बताए ।
‘नारायणहिटी सफा गर्न लगाउने भनेपछि कस्तो त स्थिति ? जनता र नेताको सम्बन्ध कटेको छ । कार्यकर्तासँग पनि कटेको छ,’ उनले भने, ‘२६ गते यो देशलाई अर्को दुर्घटनाबाट बचाउने भन्नेतिर हाम्रो दिमाग गएको थियो । हामीलाई आफूलाई के हुने भन्ने कुनै चिन्ता थिएन ।’
उनले आफूहरू त्यतिबेला संसद् विघटनको पक्षमा नरहेको पनि दोहोर्याए । प्रचण्डका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठनका लागि पत्र लेखेपछि देशलाई राजनीतिक दुर्घटनाबाट जोगाउन त्यसलाई स्वीकारिएको हो ।
‘केपी ओलीको चिठी देखेपछि अन्तरिम सरकार बनाउने वैधता पुग्यो भन्ने लाग्यो,’ उनले भने, ‘हामीले प्रस्तावित गरेका होइनौँ, अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि सिफारिस गर्ने काम केपी ओलीजीले नै गर्नुभएको हो ।’
उनले संसद् विघटनमा आफ्नो सहमति नरहेको उल्लेख गर्दै नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै हुनुपर्ने पक्षमा आफूहरू अन्तिम समयसम्म अडिग रहेको बताए ।
‘हामीले संसद् विघटन गर्ने कुरा गरेका थिएनौँ । हाम्रो सहमति थिएन,’ उनले भने, ‘नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै हुनुपर्छ भन्ने हाम्रो अडान थियो र अन्तिम समयसम्म पनि त्यही भनिरहेका थियौँ ।’








