शान्ति बाटिकाका संरचना हटाउन कार्यवाहक मेयर डंगोलको निर्देशन (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेका संरचना हटाउन नगरप्रहरीलाई निर्देशन दिएकी छन् ।
काठमाडौं महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकमा उनले शान्ति बाटिकामा रहेका संरचना हटाउन कुनै कानूनी समस्या नरहेको बताउँदै गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालयलगायतका संरचना हटाएर वडाध्यक्ष र महानगरलाई जानकारी गराउन निर्देशन दिइन् ।
‘शान्ति बाटिकाको विषय आएको छ, त्यो स्ट्रक्चर यथासम्भव आजै हटाए पनि हुन्छ,’ उनले भनिन्, ‘त्यहाँ कानूनी रूपमा कुनै पनि व्यवधान छैन । त्यो काम आजै कार्यान्वयन गरेर तस्बिरसहित हामीलाई र वडाध्यक्षज्यूलाई जानकारी गराउनुहोस् ।’
डंगोलले महानगरभित्र कर्मचारी सम्मान कार्यक्रम पनि अब थप ढिलाइ नगरी अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइन् ।
‘कर्मचारी सम्मानको कार्यक्रम जे–जे कारणले रोकिएको भए पनि अब त्यसलाई अगाडि बढाउनुहोस्,’ उनले भनिन् ।
उनले फोहोर व्यवस्थापन महानगरको प्राथमिकतामा रहेको उल्लेख गर्दै कोर एरिया र कोर क्षेत्रबाहिरको फोहोर व्यवस्थापनको समीक्षा गरी आगामी कार्ययोजना तयार गरिने जानकारी दिइन् ।
यस्तै, जनप्रतिनिधिको सुविधा सम्बन्धी विषयमा नगरसभाले निर्णय गरिसकेको र त्यसका लागि प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानूनी प्रक्रिया पूरा भएको उनले बताइन् ।
डंगोलले अव्यवस्थित बसोबास र सुकुम्बासी व्यवस्थापनका विषयमा भूमि समस्या समाधान आयोगका पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै महानगरमै छिट्टै अर्को बैठक आयोजना गरिने बताइन् । उनका अनुसार बैठकमा प्रभावित वडाका अध्यक्षसहित सरोकारवालाको सहभागितामा वडागत समस्या प्रस्तुत गरी दीर्घकालीन समाधानबारे विस्तृत छलफल गरिनेछ ।








